logo

२०८३ श्रावण १ शुक्रबार

logo
  • २०८३ श्रावण १ शुक्रबार
  • मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङ–झगरपुर–सेखुवा सडकको दीर्घकालीन अवरोध हट्ने संकेत, ठेक्का प्रक्रिया पुनः अघि बढ्दै

    874Shares
    मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङ–झगरपुर–सेखुवा सडकको दीर्घकालीन अवरोध हट्ने संकेत, ठेक्का प्रक्रिया पुनः अघि बढ्दै

      खोटाङ । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङ–झगरपुर–सेखुवा सडकखण्डको निर्माण प्रक्रिया पुनः अघि बढ्ने भएको छ। साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले सार्वजनिक गरेको धारणा अनुसार लामो समयदेखि रोकिएको ठेक्का प्रक्रिया खुल्ने वातावरण बनेसँगै स्थानीयवासीको बहुप्रतीक्षित सडक निर्माणले नयाँ गति लिने अपेक्षा गरिएको छ।

    करिब १० किलोमिटर लामो उक्त सडकखण्ड कालोपत्र गर्ने जिम्मा भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीले २०७२ साल चैत २ गते लिएको थियो। २०७५ साल फागुनभित्र काम सम्पन्न गर्ने लक्ष्य भए पनि निर्माण कम्पनीले सम्झौताअनुसार काम अघि बढाउन नसकेपछि पटक–पटक म्याद थप गरिएको थियो। तर थपिएको समयसीमाभित्र पनि उल्लेखनीय प्रगति हुन नसकेपछि सडक निर्माण वर्षौंदेखि अन्योलमा परेको थियो।

    निर्माण कम्पनीको निरन्तर ढिलासुस्तीपछि मध्यपहाडी लोकमार्ग योजनाले २०७९ साल मंसिरमा ठेक्का रद्दका लागि सडक विभागमा सिफारिस गरेको थियो। त्यसपछि निर्माण कम्पनी अदालत पुगेपछि कानुनी प्रक्रियाका कारण आयोजना थप जटिल बनेको थियो। यसबीच स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवालाले सडक निर्माण पुनः सञ्चालन गर्न निरन्तर दबाब दिँदै आएका थिए।

    अध्यक्ष रविप्रकाश राईका अनुसार कानुनी अवरोध हटाउने, स्रोत सुनिश्चित गर्ने तथा नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाउने विषयमा संघीय सरकार, सम्बन्धित मन्त्रालय तथा विभिन्न निकायबीच निरन्तर समन्वय भएको थियो। सडक निर्माणका लागि आवश्यक ६० करोड ६७ लाख रुपैयाँ स्रोत सुनिश्चित भएसँगै ठेक्का प्रक्रिया पुनः अघि बढ्ने आधार तयार भएको उनले उल्लेख गरेका छन्।

    यसैबीच, साकेला गाउँपालिका–१ का वडाध्यक्ष हेमन राईले नयाँ ठेक्का प्रक्रिया अघि बढ्न लागेकाले स्थानीय जनप्रतिनिधि र नागरिकलाई ठूलो राहत मिल्ने बताएका छन्। उनका अनुसार विगतका वर्षहरूमा सडक निर्माण अलपत्र परेकै कारण वर्षायाममा आवागमन प्रभावित हुँदा स्थानीय सरकारलाई निरन्तर जनगुनासो र आलोचना खेप्नुपरेको थियो।

    “हरेक वर्ष यही सडकको समस्याले मेरो वडा मात्र होइन, सिंगो गाउँपालिकाले तनाव झेल्नुपर्थ्यो। जनताका गुनासा र आलोचना सुन्दा हामी पनि अत्यन्तै दबाबमा थियौं। अब नयाँ ठेक्का प्रक्रिया अघि बढ्ने निश्चित भएपछि हामीलाई ठूलो राहत मिलेको छ। अब गुणस्तरीय र समयमै निर्माण सम्पन्न हुनु नै सबैको साझा अपेक्षा हो,” वडाध्यक्ष राईले भने।

    अध्यक्ष रविप्रकाश राईले तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहाल, तत्कालीन अर्थमन्त्री डा. विष्णु पौडेल, सम्बन्धित मन्त्रालयका सचिवहरू, पूर्वमुख्यमन्त्री शेरधन राई, पूर्वसांसदहरू, जिल्ला समन्वय समिति, विभिन्न राजनीतिक दलका नेता, रास्वपाका उपनेता गणेश पराजुली, पत्रकार तथा सरोकारवालाको पहलले समस्या समाधानतर्फ महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

    उनले यो उपलब्धि कुनै एक व्यक्ति वा संस्थाको नभई साकेलावासीको निरन्तर दबाब, धैर्य र सामूहिक प्रयासको परिणाम भएको उल्लेख गरेका छन्। अबको प्राथमिकता गुणस्तरीय, पारदर्शी र समयमै सडक निर्माण सम्पन्न गरी स्थानीय नागरिकलाई सुरक्षित तथा सहज यातायात सुविधा उपलब्ध गराउनु रहेको उनको भनाइ छ।

    चखेवाभञ्ज्याङ–झगरपुर–सेखुवा सडक मध्यपहाडी लोकमार्गसँग जोडिएको साकेला क्षेत्रको महत्वपूर्ण सडक हो। सडक निर्माण सम्पन्न भएपछि साकेला गाउँपालिका मात्र नभई खोटाङका पूर्वी भेगका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको आवागमनको समस्या उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। यसले स्थानीय कृषि उत्पादनको बजारीकरण, व्यापारिक गतिविधि, पर्यटन प्रवर्द्धन तथा समग्र आर्थिक–सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास स्थानीयवासीले गरेका छन्।



    फास्ट न्युज    
  • २०८३ श्रावण १, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट