काठमाडौँ। सरकारले विपद् खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय गरेको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सिस्मत पोखरेलले बैठकले खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो।
उहाँका अनुसार मन्त्रिपरिषद्ले ‘बीउबिजन (पहिलो संशोधन) नियमावली–२०८३’ पनि स्वीकृत गरेको छ। साथै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेर राष्ट्रको गौरव बढाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो तथा व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।
यस्तै, नेपाल वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको कार्यभार सम्हाल्ने गरी कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।मन्त्रिपरिषद्ले अनुचित लेनदेन (मिटरब्याज) पीडितको समस्या समाधानका लागि विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने जिम्मेवारी गृह मन्त्रालयलाई दिने निर्णयसमेत गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया