इलाम: लगातार दुई दिनदेखि परेको वर्षाका कारण इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसँगको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। सडक भासिने र खोलामा बाढी आएपछि मुख्य तथा वैकल्पिक दुवै मार्ग अवरुद्ध बनेका हुन्।
मेची राजमार्गअन्तर्गत माइखोला–राजदुवाली सडक खण्डमा चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका थिएनन्। आइतबार मोटरसाइकललाई सीमित रूपमा आवतजावत गर्न दिइए पनि सोमबार सडक थप भासिएपछि सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको छ।
राजदुवाली खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सनमा आइतबारदेखि बाढी बगेपछि उक्त सडक पनि अवरुद्ध भएको छ।
यस्तै, इलाम–झापा जोड्ने केचना–कञ्चनजङ्घा फास्ट ट्र्याकअन्तर्गत पुवा खोलाको डाइभर्सनमाथिबाट बाढी बगिरहेकाले यातायात सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो।
सडक डिभिजन कार्यालय इलामका अनुसार पुवा खोला र जोगमाई खोलामा जडान गर्ने योजना रहेको बेलीब्रिज भारतबाट हालसम्म नआएकाले सडक सञ्चालन सहज बनाउन समस्या भइरहेको छ।
झापाबाट इलाम हुँदै पाँचथर र ताप्लेजुङ जाने सबै सडक बन्द भएपछि माइखोलापारि ठूलो सङ्ख्यामा मालवाहक सवारीसाधन रोकिएका छन्। इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलका अनुसार खाद्यान्न, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री बोकेका ट्रकहरू अलपत्र परेका छन्।
उहाँका अनुसार खोलापारि रोकिएका सवारीसाधनबाट सामान अर्को गाडीमा सार्ने अवस्था पनि छैन। ट्रकका पाल चुहिँदा खाद्यान्न, दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री बिग्रने जोखिम बढेको छ। अब इलामका लागि तमोर करिडोर हुँदै बढी लागतमा सामग्री ल्याउनुको विकल्प नरहेको उहाँले बताउनुभयो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया