काठमाडौं ।आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति भएको छ। सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने भएको छ। उक्त समितिले गठन भएको सात दिनभित्र प्रतिवेदन सरकारसमक्ष पेश गर्नेछ।
सहमतिअनुसार स्वर्गीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइनेछ।
घटनाको दिन घटनास्थलमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई छानबिन आयोगको प्रतिवेदन र सिफारिसअनुसार आवश्यक कारबाही हुने गरी हालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत महानगरपालिकालाई पत्राचार गरिने भएको छ।
सहमतिअनुसार काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ। साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने व्यवस्था मिलाइनेछ, जसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले आवश्यक समन्वय गर्नेछन्।
त्यसैगरी, मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट गरिनेछ। मृतकको अन्तिम संस्कार तथा काठमाडौंमा हुने काजक्रियाका सम्पूर्ण व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने सहमति भएको छ। साथै, पीडित परिवारले शव बुझ्ने, पोस्टमार्टमलगायतका कानुनी प्रक्रियामा सहयोग गर्ने र सद्गतको जिम्मेवारी लिने उल्लेख गरिएको छ।
सहमतिअनुसार मृतकका एकाघरका परिवारजनको काठमाडौं आउजाउ (यातायात) खर्च तथा काजक्रियाको अवधिभर बसोबास र खानपिनलगायत सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ। यस्तै, मृतकका एकाघरका परिवारको स्वास्थ्य बिमा गर्ने व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइने सहमतिमा उल्लेख गरिएको छ।


© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया