काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएका छन्। उनले शिक्षा क्षेत्रको सुधारमा सबैभन्दा ठूलो बाधक राजनीतिक होइन, दलगत हस्तक्षेप रहेको उल्लेख गर्दै विद्यालय व्यवस्थापनदेखि शिक्षक नियुक्तिसम्मको दलीयकरण अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै थापाले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक नियुक्तिसम्म दलगत आधारमा हुने प्रवृत्तिका कारण शिक्षा प्रणाली कमजोर बन्दै गएको बताए।
उनले शिक्षा आफैँमा राजनीतिक विषय भए पनि त्यसलाई दलगत स्वार्थसँग जोड्नु गलत भएको धारणा राखे। उनका अनुसार विद्यालयको गुणस्तरभन्दा ‘हाम्रो मान्छे’ नियुक्त गर्ने प्रवृत्तिले शिक्षा क्षेत्रलाई गम्भीर क्षति पुर्याएको छ।
‘शिक्षामा राजनीति होइन, दलीयकरण भयो,’ थापाले भने, ‘हामीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै मान्छे चाहियो, शिक्षक पनि आफ्नै मान्छे चाहियो भन्ने सोचबाट बाहिर ननिस्केसम्म शिक्षा सुधार सम्भव छैन।’
उनले गाउँ–गाउँमा विद्यालयको अवस्था बुझ्न जाँदा पनि विद्यालयको शैक्षिक गुणस्तरभन्दा व्यवस्थापन समिति र शिक्षक कुन दलका हुन् भन्ने चर्चा बढी हुने गरेको उल्लेख गरे। यस्तो संस्कारले शिक्षा प्रणालीलाई धराशायी बनाएको उनको भनाइ थियो।
सभापति थापाले मुलुकको समृद्धि र विकासमा शिक्षा क्षेत्रको भूमिकाबारे राजनीतिक तहमा गम्भीर बहस हुनुपर्ने आवश्यकता औँल्याए। उनले शिक्षा नीतिलाई दलगत स्वार्थभन्दा माथि उठाएर राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए।
उनले सरकारले परीक्षाफल छिटो सार्वजनिक गर्नुलाई मात्रै उपलब्धि ठान्ने प्रवृत्तिको पनि आलोचना गरे। हतारमा नतिजा प्रकाशन गर्दा मूल्याङ्कनमा त्रुटि हुने र त्यसको प्रत्यक्ष असर हजारौँ विद्यार्थीमाथि पर्ने भएकाले गुणस्तरीय र विश्वसनीय मूल्याङ्कन प्रणालीमा जोड दिनुपर्ने उनको भनाइ थियो।
थापाले शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका लागि राजनीतिक दलहरूबीच साझा समझदारी र दीर्घकालीन नीतिगत प्रतिबद्धता आवश्यक रहेको समेत बताए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया