काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको भन्ने सूचनाका आधारमा विमानस्थल सुरक्षा प्रहरीले उनीहरूको यात्रा रोकेको थियो।
विमानस्थलमा रोकिएका ती महिलालाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ। हाल उनीहरूसँग सोधपुछ गरी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार नियन्त्रणमा लिइएका महिलाहरू आफैं सम्भावित पीडित हुन्। उनीहरूलाई विभिन्न प्रलोभन र झुक्यानमा पारेर विदेश पठाउने प्रयास गरिएको हुनसक्ने भन्दै त्यसमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको उनले बताए।
प्रारम्भिक अनुसन्धानबाट ती महिलाहरूलाई ओमन पठाउने नाममा भिजिट भिसामा कुवेत लैजान लागिएको खुल्न आएको छ। यस घटनामा संलग्न रहेको आशंकित गिरोहको पहिचान तथा संजालबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले मानव बेचबिखन तथा अवैध रूपमा वैदेशिक रोजगारीमा पठाउने कार्यमा संलग्न समूहको खोजी तथा कानुनी कारबाहीका लागि अनुसन्धान जारी रहेको जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया