हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता-२०८३ आजदेखि सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिका-६ स्थित केन्द्रीय खेलकुद प्रतिष्ठान गौरीटारमा प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन हुन लागेको हो ।
यसअघि २४ जेठबाट सुरु गर्ने भनिएको प्रतियोगिता आन्तरिक तयारीका कारण असार पहिलो हप्तालाई स्थानान्तरण गरिएको परिषद्ले जनाएको छ । प्रतियोगिताअन्तर्गत् एथलेटिक्स विद्याका खेलहरु भने १ असारबाटै हेटौंडाको पिप्ले–क्याम्पा रङ्गशालामा सुरु भइसकेको परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए ।
लामाका अनुसार प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाबाट खेलाडी, प्रशिक्षक, निर्णायक र अफिसियलको सहभागिता रहनेछ । प्रतियोगितामा करिब तीन हजार अर्थात २ हजार ९ सय ५५ खेलाडी र १ हजार २ सय ६ अफिसियलसहित कुल ४ हजार १ सय ६१ जनाको सहभागिता रहने उनले जानकारी दिए । प्रतियोगिताका लागि १३ करोड २० लाख रुपैयाँ विनियोजन भएको छ ।
सदस्य सचिव लामाले यस प्रतियोगिता नयाँ प्रतिभा पहिचान, अनुभवी खेलाडीको क्षमता प्रदर्शन र आगामी दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि महत्वपूर्ण हुने बताए । खेलकुद पूर्वाधार पूर्ण रुपमा तयार नभए पनि उपलब्ध संरचना र स्रोतसाधनलाई व्यवस्थापन गर्दै प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले बताए ।
प्रतियोगितामा १५ खेल विद्या समावेश छन् । हेटौंडामा फुटबल, पुरुष क्रिकेट, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र टेबलटेनिस हुनेछन् । महिला क्रिकेट र कराँते चितवनमा तथा भलिबल, पौडी, उसु र जुडोका खेल काठमाडौं र ललितपुरमा सञ्चालन हुने सदस्य सचिव लामाले जानकारी दिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया