काठमाडौं । नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङ ले फिलिपिन्समा हालै गएको विनाशकारी भूकम्पबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
एक विज्ञप्ति जारी गर्दै गुरुङले भूकम्पका कारण ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
उनले नेपालीहरूले पनि २०७२ सालको महाभूकम्पको पीडा भोगिसकेको स्मरण गर्दै यस्तो विपत्तिको अवस्थामा पीडित राष्ट्र र नागरिकले भोग्नुपर्ने कठिनाइलाई नेपालले राम्रोसँग बुझ्न सक्ने बताएका छन्।
गुरुङले संकटको यस घडीमा मानवीयताको भावनालाई प्राथमिकता दिन आग्रह गर्दै नेपाल सरकारले आफ्नो क्षमता अनुसार औषधि, राहत सामग्री तथा प्राथमिक उपचारका आवश्यक सामग्री संयुक्त राष्ट्रसंघ वा अन्तर्राष्ट्रिय रेडक्रसजस्ता निकायमार्फत प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।
त्यस्तै, फिलिपिन्स तथा आसपासका क्षेत्रमा अध्ययन, रोजगारी वा अन्य कारणले रहेका नेपाली नागरिकहरूको अवस्थाबारे तत्काल जानकारी संकलन गर्न र उनीहरूको सुरक्षाका लागि कूटनीतिक नियोगहरूलाई उच्च सतर्कतामा राख्न सरकारसँग माग गरेका छन्। आवश्यक परेमा नेपालीहरूको सुरक्षित उद्धारको व्यवस्था गर्नसमेत उनले आग्रह गरेका छन्।
गुरुङले मानवीय संकटका बेला एकअर्कालाई सहयोग गर्नु नै विश्व बन्धुत्वको सच्चा भावना भएको उल्लेख गर्दै यस कठिन परिस्थितिसँग जुध्न फिलिपिनी जनताले धैर्य र शक्ति प्राप्त गरून् भन्ने कामना गरेका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया