काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँने गरिन्छ ।
संसारिक मोहबाट पूर्ण रूपमा जागृत एक महान् दार्शनिक, गुरु तथा पथप्रदर्शकका रूपमा चिनिने गौतम बुद्धको जन्म ईसा पूर्व ५४३ मा नेपालको कपिलवस्तु जिल्लास्थित सालका रुखहरूले घेरिएको बगैँचामा भएको मानिन्छ।
शान्ति, सत्यता, अहिंसा र सरल जीवनशैलीका प्रतीक बुद्धले करिब २५०० वर्षअघि दिएको ज्ञानले मानव समाजलाई नयाँ शान्तिपूर्ण दिशातर्फ डोऱ्याएको विश्वास गरिन्छ। वैशाख शुक्ल पूर्णिमा बुद्धका जीवनमा विशेष महत्त्व राख्ने दिन हो, किनकि यही दिन उनको जन्म, ज्ञान प्राप्ति (बोधि) र महापरिनिर्वाण भएको मान्यता छ।
बुद्धको जन्म मिति सम्बन्धमा दुई प्रमुख मत पाइन्छन्—सिंहली र केन्टोनिज। सिंहली मत साहित्यिक स्रोतमा आधारित छ र नेपालमा यही मत प्रचलित छ, जसको विकास श्रीलङ्कामा भएको हो। अर्कोतर्फ, केन्टोनिज मत शिलालेखमा आधारित मानिन्छ। केही विद्वान्हरूले बुद्धको जन्म ईसा पूर्व ५६६ मा भएको उल्लेख गर्छन्, जसअनुसार मितिमा केही मतभेद देखिन्छ।
बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो। जन्मसँगै उनले सात कदम उत्तरतर्फ हिँडेर औँला आकाशतर्फ देखाएको किंवदन्ती पनि प्रचलित छ।
हाल विश्वभर करिब ३५ करोडभन्दा बढी मानिसले बौद्ध धर्म अनुसरण गर्छन्, जसले यसलाई विश्वको चौथो ठूलो धर्म बनाएको छ। नेपालसहित चीन, भारत, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मङ्गोलिया र कोरिया लगायतका देशहरूमा बौद्ध धर्मका अनुयायीहरू फैलिएका छन्।
‘एसियाको तारा’का रूपमा चिनिने गौतम बुद्ध नेपालको भूमिमा जन्मिएको गौरवका कारण बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक बिदा दिने गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया