logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको आदेश, मातृका यादवको प्रमाणपत्र खोसिन सक्ने

    853Shares
    किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको आदेश, मातृका यादवको प्रमाणपत्र खोसिन सक्ने

    काठमाडौं । सर्वोच्च अदालतले आज धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहलाई कालोसूचीबाट हटाउन नेपाल राष्ट्र बैंकलाई आदेश दिएपछि त्यहाँको चुनावी नतिजाका विषयमा अन्योल उत्पन्न भएको छ । उनी कालोसूचीमा रहेको पाइएपछि निर्वाचन आयोगले उम्मेदवारी रद्द गर्ने निर्णय लिएको थियो ।

    उम्मेदवारी खारेजीका बाबजुद धनुषा १ मा साहलाई सबैभन्दा बढी मत पर्‍यो । तर आयोगले नियमानुसार उनको चुनावचिन्ह घन्टीमा आएको भोटलाई बदर मानेर दोस्रो स्थानमा रहेका नेकपा उम्मेदवार मातृका यादवलाई विजयी प्रमाणपत्र दिएको छ । तर, आजको आदेशपछि यादवको प्रमाणपत्र खोसिनसक्ने अवस्था देखिएको छ ।

    साहले आफूलाई कालोसूचीबाट हटाउन माग गर्दै राष्ट्र बैंकविरुद्ध रिट हालेका थिए । आज उक्त रिटविरुद्ध आदेश आएको हो । निर्वाचन आयोगले यादवले गरेको निर्णयविरुद्धमा उनले हालेको अर्को रिटको पेशी भोलिलाई तोकिएको छ । सर्वोच्चले भोलि (शुक्रबार) आयोगलाई छलफलका लागि बोलाएको छ ।

    निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले धनुषा १ को विषयमा भोली टुंगो लाग्ने बताए । आज भएको अन्तरिम आदेश बमोजिम नै भोली पनि आदेश आएको खण्डमा यादवले पाएको प्रमाणपत्र रद्द हुन सक्ने उनको भनाइ छ ।

    नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘आजको आदेश भनेको कालोसूचीका विषयमा मात्रै हो । उम्मेदवारीका खारेजीका विषयमा हालेको रिटमा सर्वोच्चले भोली हामीलाई पनि छलफलका लागि बोलाएको छ । त्यसपछि निर्णय आउला । यदि सर्वोच्चले उहाँको पक्षमा फैसला गर्‍यो भने हामी त्यही बमोजिम नयाँ निर्णय गर्छौँ ।’



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार