logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • चेपाङको जमिनमा विचौलिया, प्रलोभनमा पारी जमिन खरिद गर्न थाले

    1.1KShares
    चेपाङको जमिनमा विचौलिया, प्रलोभनमा पारी जमिन खरिद गर्न थाले

    चितवन, १५ भदौः चितवनको पहाडी क्षेत्रमा जमिनको मूल्य बढ्दै गएपछि चेपाङ समुदायको बाहुल्यता भएका सो क्षेत्रमा विचौलियाहरूले प्रलोभनमा पारी जमिन खरिद गर्न थालेका छन् । खानी, प्राकृतिक सुन्दरतालगायत कारणले जमिनको महत्त्व बढ्दै गएपछि का कारण विचौलियाहरूले जमिन खरिदबिक्री गर्न थालेका हुन् ।

    समुदायसँग आफ्नो नाममा थोरै जमिन मात्रै हुने नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्षसमेत रहनुभएका संविधानसभा सदस्य गोविन्दराम चेपाङले बताउनुभयो । उहाँले २० प्रतिशत चेपाङसँग मात्रै आफ्नो नाममा जमिन भएको जनाउँदै बाँकी ८० प्रतिशत ऐलानी र अरुको जमिनमा खेती गरी जीविकोपार्जन गर्ने गरिएको उल्लेख गर्नुभयो ।

    पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रमा घडेरी किन्ने लहर चलेको छ । खानी, प्राकृतिक सुन्दरता, अनुकूल मौसमलगायत कारणले ग्रामीण क्षेत्रका जमिनको मूल्य बढ्दै गएको सङ्घका केन्द्रीय अध्यक्ष चेपाङले बताउनुभयो । तराईमा बढ्दो गर्मी र नजिकै पहाडमा शीतलताले पाइने भएकाले पनि पहाडी क्षेत्रमा जमिनको मूल्य बढेको उहाँको भनाइ छ ।

    उहाँका अनुसार पछिल्लो समय दुई जनाको जमिन प्रलोभनमा पारेर ठगी गरिएको भन्दै सङ्घमा निवेदन परेको छ । यसका अतिरिक्त ‘तिम्रो जमिनमा आफैँ बस्न र खेती गर्न पाउँछौँ’ भन्दै प्रलोभनमा पारेर जग्गा पास गर्ने प्रचलन बढ्दो रहेको उहाँले बताउनुभयो ।

    “चेपाङ समुदायको बाहुल्यता रहेको चितवन, मकवानपुर र धादिङमा मात्रै ४४ ठाउँमा खानी दर्ता भएको तथ्याङ्क छ । कालिका नगरपालिका–९ मा मात्रै नौ वटा चुनढुङ्गा खानी दर्ता भएका छन्”, सङ्घका अध्यक्ष चेपाङले भन्नुभयो ।

    सङ्घका महासचिव शन्तबहादुर चेपाङले विचौलियाले यहाँ जमिनको प्रचलित मूल्यभन्दा धेरै सस्तोमा किनबेच गर्ने गरेका पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक वर्षमा फिर्ता हुन्छ भन्दै पास गर्नेहरू पनि भेटिएका छन् । तर ती जमिन तीन–चार तहमा बिक्री भएर गइसकेको फेला परेका छौँ ।”

    सङ्घका चेपाङका अनुसार चितवनमा ३५ हजार ६३७ जनसङ्ख्या यो समुदायको छ भने देशभर ८४ हजार ३६४ छ । चितवनको कालिका नगरपालिका–८, ९, १० र ११, राप्ती नगरपालिका–१०, ११, १२ र १३, इच्छाकामना गाउँपालिकाका–१, २ र ६ वडामा चेपाङ जातिको बाहुल्यता छ ।

    गोरखाको गण्डकी र सहिद लखन गाउँपालिका, मकवानपुरको राक्सिराङ, मनहरी र कैलाश गाउँपालिकामा चेपाङको बाहुल्यता छ । यस्तै धादिङको बेनिघाट रोराङ, थाक्रे र गजुरीमा चेपाङ बसोबास रहेको उहाँले जानकारी दिनुभयो ।

    सङ्घ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले खानी क्षेत्रमा चेपाङको जमिन भएको भन्दै विचौलिया र ठेकेदार बसेर जमिनको मूल्य तोक्ने, चेपाङ समुदायसँग सस्तो मूल्यमा किनबेच गर्ने गरेका बताउनुभयो । उहाँले भन्नुभयो, “यो यो ठाउँमा खानी छ भनेर पत्ता लगाउँछन्, बाहिरै बसेर जग्गाको कारोबार गर्दछन् ।”

    यो समस्या बढ्दै गएमा चेपाङ भूमिहीन बन्नेक्रम अझै थपिने उहाँको भनाइ छ । राज्यले भूमिहीन हुनेगरी जग्गा बेच्दै गर्दा यस कार्यलाई विपन्न समुदायलाई ठगिनबाट बचाउनुपर्ने उहाँको माग छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र १५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट