logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • तिब्बतको लिन्चीमा हिमालय वरपरका क्षेत्रको विकासका मुद्दाबारे छलफल

    994Shares
    तिब्बतको लिन्चीमा हिमालय वरपरका क्षेत्रको विकासका मुद्दाबारे छलफल

    ल्हासा । ट्रान्स हिमालयन सीमापार उद्योगीहरूको अन्तर्राष्ट्रिय सम्मेलन चीनको सिचाङ (तिब्बत) स्वायत्त प्रदेशको लिन्चीमा तीन दिनसम्म आयोजना भएको छ । विभिन्न देशका कुटनीतिक व्यक्तित्व र व्यवसायीको सहभागितामा ट्रान्स हिमालयन फोरम सम्पन्न भएको हो । कार्यक्रममा हिमालय वरपरका क्षेत्रको विकासका मुद्दाबारे घनिभूत छलफल भयो ।

    हिमालयन देशहरुको पर्यटन र आर्थिक विकासको प्रवद्धर्न गर्ने उद्देश्य राखेर फोरमको आयोजना गरिएको हो । यस्तै हिमालय क्षेत्रका राष्ट्रहरुबिचको व्यापारव्यवसाय र आर्थिक विकासको प्रवर्द्धनमा जोड दिनु पनि यस फोरमको उद्देश्य रहेको थियो । ट्रान्स हिमालयन फोरम भनेको चीनको सिचाङ जनसरकारद्वारा आयोजित र परराष्ट्र मन्त्रालयद्वारा समर्थित एक क्षेत्रीय अन्तर्राष्ट्रिय सहयोग मञ्च हो । फोरममा नेपाललगायत विभिन्न देशका उच्च पदस्थ व्यक्तित्व, व्यवसायीलगायतलाई आमन्त्रण गरिन्छ ।

    यसपटकको कार्यक्रममा बेइजिङबाट नेपाली राजदूत कृष्णप्रसाद ओली, तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले भाग लिएका थिए । यसैगरी कार्यक्रममा चिली र अफगानिस्तानका राजदूत पनि सहभागी थिए । आफ्नो व्यवसाय तथा संस्थाको जानकारी गराउँदै विभिन्न देशका उद्योगीव्यवसायीहरुले फोरममा सहभागिता जनाए ।

    चीनका लागि नेपाली राजदूत ओलीले हिमाली मुलुक नेपालले जलवायु परिवर्तनको असर सबैभन्दा धेरै सहनुपरेको बताउँदै अन्य विकसित मुलुकको औद्योगिक विकासले नेपाल प्रताडित हुनुपरेको बताए । नेपालका हिमालहरू पग्लिँदै गएको, पर्यटन क्षेत्र धराशायी हुँदै गएकोतर्फ नेपालले निरन्तर अन्तर्राष्ट्रिय समुदायलाई झक्झक्याइरहेको पनि उनले सुनाए ।

    हिमालय सीमापार कनेक्टिभिटी सबैभन्दा बढी आवश्यक नेपाललाई रहेको भन्दै उनले चीनसँग अन्तर्राष्ट्रिय कनेक्टिभिटी बढाउनका लागि चिनियाँ रेललाई नेपाल जोड्नुपर्ने कुरामा राजदूत ओलीले जोड दिए । उनले भने, ‘नेपाल र चीनबीचमा रेलवे सञ्जाल जोडिएमा नेपालमा चिनियाँ पर्यटक बढ्ने र नेपाली उत्पादनलाई चिनियाँ बजारमा विस्तार गर्न सजिलो हुनेछ ।’ नजिकको छिमेकी भएकाले नेपालमा लगानी गर्नु सहज हुने भन्दै उनले व्यवसायी र उद्योगीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे ।

    सीपीसी लिन्चीका उपसचिव तथा मेयर पा थाले स्वागत गर्दै रात्रिभोज दिए । २७ तारिखका दिन सिचाङ स्वायत्त प्रदेशका उपाध्यक्ष चाओ पेंगले सम्मेलनलाई मुख्य सम्बोधन गरे । कार्यक्रम उद्घाटनका अवसरमा तिब्बती संस्कृतिका झलकहरू समेत प्रदर्शन गरिएको थियो। सहभागीहरूलाई लिन्चीमा रहेका विभिन्न सङ्ग्रहालय, औद्योगिक क्षेत्र, पार्क, पानी उद्योग, कृषि फार्म लगायतका ठाउँको स्थलगत अवलोकन भ्रमण गराइएको थियो ।

    २०१८ मा स्थापना भएदेखि ट्रान्स हिमालय फोरम ४ पटक सफलतापूर्वक आयोजना गरिएको छ जसमा हालसम्म ४०० भन्दा बढी नेताहरू, चीनका लागि राजदूतहरू, ५० भन्दा बढी देश र क्षेत्रका विज्ञहरू र विद्वानहरू र २० भन्दा बढी अन्तर्राष्ट्रिय सहयोग संस्थाहरू सहभागी भएका छन् । यो क्षेत्रीय पारिस्थितिक संरक्षण, हरित विकास र सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्ने एक महत्वपूर्ण संयन्त्र बनेको छ ।



    फास्ट न्युज    
  • २०८२ असार १५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट