logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • अहिलेकै अवस्थामा नेपालमा फाइभजी सेवा असम्भव: एनसेल

    1.2KShares
    अहिलेकै अवस्थामा नेपालमा फाइभजी सेवा असम्भव: एनसेल

    काठमाण्डौ ।  निजी क्षेत्रको दूरसञ्चार सेवा कम्पनी एनसेलले अहिलेकै अवस्थामा नेपालमा फाइभजी सेवा सम्भव नभएको जनाएको छ । अहिलेको कर नीति र बजारको गिर्दो अवस्थाका कारण नेपालमा फाइभजी सेवा विस्तार गर्न कठिन रहेको एनसेलको भनाइ छ ।

    अस्ति बिहीवार काठमाण्डौमा भएको कार्यक्रममा एनसेलका प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले सरकारले कर प्रणालीसहित नीतिगत सुधारमा ध्यान नदिएसम्म नेपालमा फाइभजी सेवा विस्तार गर्न नसकिने बताउनुभयो ।

    जबसम्म उद्योग आफैँ स्वस्थ र दिगो हुँदैन, तबसम्म फाइभजी जस्तो ठूलो लगानी भित्र्याउन नसकिने उहाँको भनाइ छ । उहाँका अनुसार काठमाण्डौ र ललितपुर महानगरपालिकाभित्र मात्र फाइभजी ल्याउन कम्तीमा साढे १५ अर्ब रुपैयाँ र देशभर विस्तार गर्न साढे ६४ अर्ब रुपैयाँ लगानी आवश्यक पर्छ ।

    अरू देशमा लगानीकर्ताहरूका लागि प्रतिस्पर्धा भइरहँदा नेपाल भने विश्वमा बढी कर लगाउने देश बनिरहेको उहाँले गुनासो गर्नुभयो । दूरसञ्चार कम्पनीहरूले आफ्नो कुल आम्दानीको लगभग ६० प्रतिशत हिस्सा विभिन्न कर र शुल्कका रूपमा सरकारलाई बुझाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

    एनसेलका प्रमुख जाब्बोरका अनुसार पछिल्ला केही वर्षमा अन्तर्राष्ट्रिय तथा स्थानीय कलबाट हुने आम्दानीमा भारी गिरावट, इन्टरनेट सेवा प्रदायकबीचको अस्वस्थ प्रतिस्पर्धा र नियामक निकायका केही नीतिका कारण समग्र उद्योगको आम्दानी र नाफा निरन्तर घटिरहेको छ । दूरसञ्चार क्षेत्रलाई निरुत्साहित गर्ने क्षेत्रगत करहरू तत्काल हटाउनुपर्ने एनसेलको माग छ ।

    यस्तै कर्पोरेट करलाई अन्य उद्योगसरह ३० प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झार्नुपर्ने र फाइभजीका लागि आवश्यक प्रविधि तथा उपकरण आयातमा लाग्ने शुल्कमा छुट दिनुपर्ने एनसेलको प्रस्ताव छ । फाइभजी द्रूत इन्टरनेट सेवासँगै नेपालको डिजिटल अर्थतन्त्र, स्मार्ट सिटी, कृषि, स्वास्थ्य र शिक्षाको भविष्य भएको भन्दै एनसेलका प्रमुख जाब्बोरले उद्योगी, सरकार र नियामक निकाय एक ठाउँमा उभिएर काम गर्नुपर्ने बताउनुभयो ।

    अहिले दक्षिण एशियामा नेपाल र पाकिस्तानबाहेक सबै देशहरुले फाइभजी प्रविधि भित्र्याइसकेका छन् । एनसेलले अबको चार वर्षपछि मात्र फाइभजी लाइसेन्स लिने प्रक्रियामा जाने बताएको छ । त्यसका लागि केही नयाँ व्यापारिक मोडेलसमेत ल्याउने योजना रहेको एनसेलको भनाइ छ ।

    एनसेलले अहिले प्रयोगमा रहेका टूजी र थ्रीजी नेटवर्क क्रमशः बन्द गर्ने तयारी गरिरहेको जानकारी पनि दिएको छ । कम्पनीले १२ प्रतिशत थ्रीजी सेवा पहिले नै बन्द गरिसकेको र बाँकी सेवा यस वर्षभित्रै पूर्ण रूपमा बन्द गर्ने योजना बनाएको हो । टूजी सेवा भने आउँदो दुई वर्षभित्र बन्द गर्ने एनसेलको तयारी छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ३१, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट