logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • १३ प्रतिशतले बढ्यो रेमिट्यान्स, दश महिनामा १३ खर्ब ५६ अर्ब रुपैंयाँ भित्रियो

    1.1KShares
    १३ प्रतिशतले बढ्यो रेमिट्यान्स, दश महिनामा १३ खर्ब ५६ अर्ब रुपैंयाँ भित्रियो

    काठमाडौं । वैदेशिक रोजगारीबाट प्राप्त हुने आय अर्थात् रेमिट्यान्स रकम बढेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनाको प्रतिवेदन अनुसार रेमिट्यान्स रकम १३ दशमलव दुई प्रतिशतले बढेर १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव नौ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा विप्रेषण आप्रवाह एक खर्ब ६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब १५ अर्ब ९९ करोड रहेको थियो ।

    समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव पाँच प्रतिशतले बढेर नौ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४ खर्ब ७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब एक अर्ब ७५ करोड रहेको थियो ।

    राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख पाँच हजार छ सय १० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८० हजार तीन सय १४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः तीन लाख ७३ हजार तीन सय सात र दुई लाख ३५ हजार तीन सय ९८ रहेको थियो ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट