काठमाण्डाै । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा गएराति २ बजेदेखि शुरू भएको आगो अझै निभाउन सकिएको छैन ।
आगो निभाउने प्रयास भइरहेको तर नियन्त्रणमा आउन नसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनार्दन जिसीले उज्यालोलाई जानकारी दिनुभयो ।
झन्डै ७ बिघामा क्षेत्रफलमा फैलिएको उद्योगभित्र ठूलो मात्रामा गोलिया काठ राखिएकोले आगो निभाउन समस्या भइरहेको छ । ८ वटा दमकलबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रुपन्देही, बाँके, कपिलवस्तु, दाङ लगायतका जिल्लाबाट दमकल ल्याएर आगो निभाउने प्रयास भइरहेको एसएसपी जिसीले बताउनुभयो ।
आगलागीबाट करोडौंको भौतिक क्षति भए पनि मानव बस्ती नजिक नभएकोले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । अहिले डोजरको प्रयोग गरी जमिनको भाग छुट्टयाएर आगो थप फैलिनबाट रोक्ने प्रयास भइरहेको एसएसपी जिसीले बताउनुभयो ।
उद्योगमा बिजुली शर्ट भएर गएराति २ बजेदेखि आगलागी शुरू भएको हो । उद्योग नजिकका ३० वटाभन्दा धेरै घर जोखिममा रहेका छन् । ती घरका सामान बाहिर निकालिएको र त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित ठाउँमा लगिएको छ ।
हावा लागेकाले आगो निभाउन थप समस्या भइरहेको छ । आगो निभाएपछि मात्रै क्षतिबारे अनुमान हुने प्रहरीले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया