कर्णाली:राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको बताउनुभएको छ । कर्णाली प्रदेश रङ्गशालाको अनुगमनका क्रममा सदस्य सचिव घिसिङले गत मङ्सिर २१ गते बसेको परिषद्को ११८औँ बैठकका निर्णयअनुसार आगामी चैत २३ गतेदेखि सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो ।
उहाँले पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले गरिरहेका काम उच्च प्रशंसा गर्नुभयो । “पूर्वाधार निर्माणमा कर्णाली प्रदेश सरकारले यो स्तरमा लगानी गरेको पहिलो र उत्कृष्ट काम हो । यहाँको कामको स्थितिले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएका समयमा हुँदैन कि भन्ने संशय लिनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।
सदस्य सचिव घिसिङका अनुसार प्रतियोगितामा समावेश हुने ३६ खेलमा २४ खेल कर्णालीमा खेलाइने र उद्घाटनपूर्व पनि केही खेल सञ्चालन गरिनेछन् । उहाँले नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक रु ६० करोड बजेट छुट्याएको र यसबाट खेलाडीलाई राहत हुनेगरी काम गरिने बताउनुभयो ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आयोजकको तयारी र योजनाअनुसार आफूहरू समयमै प्रतियोगिता हुनेगरी काममा लागिपरेको बताउनुभयो । उहाँले कर्णाली प्रदेश खेलकुद विकास परिषद्का रिक्त पदाधिकारी नियुक्तिका विषयमा आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया