बेइजिङ : चीनको तिब्बत क्षेत्रमा हिजो आएको विनाशकारी भूकम्पबाट कम्तीमा एक सय २६ जनाको ज्यान गएको छ । भूकम्प परेर एक सय ८८ जना घाइते हुनुका साथै सयौं भवन क्षतिग्रस्त भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।सिन्ह्वाका अनुसार हिजो बिहान नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ । यो भूकम्पको धक्का नेपाल, भारत र भुटानका विभिन्न ठाउँमा पनि महसूस भएको थियो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘सम्भव भएसम्म क्षति कम गर्दै, सम्पूर्ण खोज र उद्धार प्रयासहरू, प्रभावित बासिन्दाहरूको उचित पुनर्वास र जाडोयाममा उनीहरूको सुरक्षा र न्यानो सुनिश्चित गर्न’ आह्वान गर्नुभएको थियो । चीन मौसम विज्ञान प्रशासनका अनुसार भूकम्प प्रभावित क्षेत्रमा रातको तापक्रम माइनस १६ डिग्री सेल्सियस सम्म झरेको अवस्थामा उद्धारकर्ताले उद्धार जारी राखेका खबरमा उल्लेख छ । यस क्षेत्रमा अग्नि नियन्त्रक, सेना, प्रहरी अधिकारी, स्वास्थ्यकर्मीलगायत १२ हजारभन्दा बढी उद्धारकर्ताहरू खटाइएको चिनियाँ अधिकारीले बताएका छन् ।
चीनका केन्द्रीय अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रमा झण्डै २२ हजारको सङ्ख्यामा पाल, शीतकालीन कोट, फोल्डिङ बेडलगायतका विपद् राहत सामग्रीहरू पठाएका छन् । यसअघि सन् २०२३ को डिसेम्बरमा उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको भूकम्पमा एक सय ४८ जनाको ज्यान गएको थियो । यस्तै सन् २०१४ मा आएको भूकम्पमा परी दक्षिण–पश्चिमी युनान प्रान्तमा छ सयभन्दा धेरै मानिसको ज्यान गएको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया