-भावना घिमिरे (अर्घाखाँची)
‘खोलाको किनारमा घर बनाउनु हुन्न । खोलाको किनारा पानीको हो । मान्छे हिड्ने बाटामा केही अवरोध आयो भने मान्छेले बाटोबाट मिल्काउँछ । हो , त्यस्तै पानीले पनि आफ्नो बाटामा आएको अवरोधलाई मिल्काउँछ ,र बग्छ ।’
स्कुलमा गुरूआमाले पढाएको यो कुरा शिवको मनमा खुब गढेको थियो । शिवका बाबाले आफ्नो जग्गा खोला तिर बढाउँदै थिए । बाबाको यो काम उसलाई पटक्कै मन परेको थिएन् । अझ बाबाले खोला नजिक घर बनाउने योजना सुनाउँदा शिव हैरानीमा हुन्थ्यो।
राजुका बाबाले भने खोलाको नजिकै घर बनाएका थिए । राजु निकै मख्ख थियो । फेरी अर्को दिन गुरूआमाले वर्षामा आउने बाढीपहिरो र त्यसले ल्याएको विनाशका बारेमा ‘खोलाका किनारा मिचेर बनाएका घरले प्रकृतिलाई कुरूप बनाउने, वातावरणीय असन्तुलन ल्याउने र अन्त्यमा एक दिन बाढीले घर बगाउने’ बताउनु भयो । उहाँले मान्छेलाई समेत बाढीले बगाउने बताउनु भयो । अझ एकपटकको वर्षामा वस्तीमा बढी पसेर धेरै मान्छे मरेको कुरा पनि गुरू आमाले सुनाउनु भयो ।
गुरू आमाका कुरा सुनेको शिवलाई घर पुग्न हतार भयो । स्कूल छुट्टी भएपछि हतारहतार घर गएर आमालाई बगरतिर सारेको जग्गा छोड्न आग्रह गर्यो । आमाले उल्टो गाली पो गर्नु भयो । साँझ बाबालाई खोलाको किनाराको जग्गा छोडेर रूख रोप्न निकै सम्झायो । बाबाले पनि उसका कुरा सुन्नु भएन ।
केही दिनपछि लगातार दुई दिनसम्म पानी पर्यो । खोला किनारामा बसेको वस्तीमा बाढी पस्यो । राजु लगायतका धेरैका घर बाढीले ढाल्यो । धेरै मानिस वेपत्ता भए । धेरै मानिस हताहत भएका समाचारहरू आए । समाजमा खैलाबैला भयो । बाबाले खोला किनारातर्फ बनाएको जग्गामा त खोलो बग्यो । खोलाका किनार त चिन्नै नसकिने भए ।
यसपछि शिवका बाबाले शिवलाई अँगालो मारेर धेरै बेर मौन बसे । छोराको बुद्धि देखेर आमा रोइन् । खोला किनारा हडप्नु हुन्न भन्ने कुरामा शिव स्कूलमा पनि वहस गरिरहन्थ्यो । वर्षायामको बाढी र त्यसले पुर्याएको ठूलो क्षतिपछि स्कूलमा शिवको गुरूआमाले निकै चर्चा गर्नुभयो । स्कूलम शिव त ‘हिरो’ बन्यो ।
अहिले शिवलाई ऊ बस्ने नगरपालिकाले वातावरण विषय पढ्न छात्रवृत्ति दिएको छ । शिवलाई वातावरण बिषय पढ्न खुब रहर पनि थियो । राजुले पनि आजभोलि उनलाई मिल्ने साथी बनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया