logo

२०८३ भाद्र २० शनिबार

logo
  • २०८३ भाद्र २० शनिबार
  • खोटाङ कांग्रेसमा निरन्तर ‘पहिरो’, श्यामकुमार राईले पनि छाडे पार्टी

    2.3KShares
    खोटाङ कांग्रेसमा निरन्तर ‘पहिरो’, श्यामकुमार राईले पनि छाडे पार्टी

    खोटाङ । नेपाली कांग्रेस खोटाङमा पार्टी परित्याग गर्ने क्रम रोकिएको छैन। पछिल्लो समय पार्टीभित्र देखिएको आन्तरिक कलह, नेतृत्वबीचको असमझदारी र संगठनप्रतिको असन्तुष्टिको प्रभाव जिल्ला तहसम्मै देखिन थालेको छ। यही क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–खार्मी निवासी कांग्रेस जिल्ला कार्यसमिति सदस्य श्यामकुमार राईले पनि पार्टी परित्याग गरेका छन्।

    राईले कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका हुन्। उनका अनुसार रास्वपाले आगामी स्थानीय तह निर्वाचनमा आफूलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर पदको उम्मेदवार बनाउने निश्चित गरेपछि कांग्रेस परित्याग गरेका हुन्।

    राईको पार्टी परिवर्तनलाई खोटाङ कांग्रेसभित्र पछिल्लो समय देखिँदै आएको असन्तुष्टिको अर्को कडीका रूपमा हेरिएको छ। विशेषगरी जिल्लामा कांग्रेसका नेता तथा कार्यकर्ताहरूले पार्टीभित्रको कार्यशैली र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छाड्ने वा जिम्मेवारीबाट अलग हुने क्रम बढ्दै गएको देखिन्छ।

    प्रतिनिधिसभा निर्वाचनको समयमा कांग्रेसका जिल्ला सदस्य तथा संगठन विभाग प्रमुख विष्णुराज राईले पार्टी परित्याग गरी श्रम संस्कृति पार्टी प्रवेश गरेका थिए। त्यस पछि कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष जेफर राईले समेत पार्टी परित्याग गरे।

    पार्टी छाड्ने क्रमसँगै कांग्रेसको आन्तरिक संगठनमा देखिएको असन्तुष्टि युवा तहसम्म पनि पुगेको छ। त्यसको पछिल्लो उदाहरणका रूपमा तरुण दल खोटाङका जिल्ला अध्यक्षसहित करिब ४० जना पदाधिकारी तथा सदस्यले सामूहिक राजीनामा दिएको घटनालाई लिन सकिन्छ। नेतृत्व र संगठन सञ्चालनप्रति असन्तुष्टि जनाउँदै भएको उक्त सामूहिक राजीनामाले कांग्रेसभित्रको असन्तुष्टि केवल नेताहरूबीचको विवादमा सीमित नभई युवा संगठनसम्म फैलिएको संकेत गरेको छ।

    यसरी एकपछि अर्को नेता–कार्यकर्ताले पार्टी छाड्नु, जिम्मेवारीबाट राजीनामा दिनु तथा समानान्तर राजनीतिक गतिविधिमा जोडिनुले खोटाङ कांग्रेसमा संगठनात्मक चुनौती थपिँदै गएको देखिन्छ। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाको सबैभन्दा पुरानो राजनीतिक दलका नेता–कार्यकर्ता अन्य दलतर्फ आकर्षित हुन थालेपछि त्यसको प्रत्यक्ष प्रभाव आगामी निर्वाचनको राजनीतिक समीकरणमा समेत पर्न सक्ने आँकलन हुन थालेको छ।

    श्यामकुमार राईको रास्वपा प्रवेशले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्थानीय राजनीतिमा समेत नयाँ बहस सिर्जना गरेको छ। विशेषगरी आगामी स्थानीय तह निर्वाचनमा राईलाई मेयरको उम्मेदवार बनाउने तयारी भएको दाबीले कांग्रेस र रास्वपाबीचको सम्भावित प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

    एकपछि अर्को नेता–कार्यकर्ता बाहिरिन थालेपछि खोटाङ कांग्रेसमा देखिएको असन्तुष्टि अब व्यक्तिगत असहमतिको तहमा मात्र नरही संगठनात्मक समस्याका रूपमा देखा पर्न थालेको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट