logo

२०८३ भाद्र १९ शुक्रबार

logo
  • २०८३ भाद्र १९ शुक्रबार
  • त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई कर्मचारीको उद्धार, गृहमन्त्रीको ‘फिल्ड एक्टिभिजम’ को आलोचना

    730Shares
    त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई कर्मचारीको उद्धार, गृहमन्त्रीको ‘फिल्ड एक्टिभिजम’ को आलोचना

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ ।

    उद्धार टोलीले शुक्रबार सुरुङभित्रबाट आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई सकुशल बाहिर निकालेको हो ।

    सुरुङबाट उद्धार गरिएका दुवै जनालाई तत्काल स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि हेलिकप्टरमार्फत अस्पताल पठाउने तयारी भइरहेको छ । उद्धारका क्रममा उनीहरूलाई स्ट्रेचरमा राखेर अक्सिजन दिइएको थियो ।

    उद्धार तथा स्थलगत समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ स्वयं घटनास्थलमा खटिएका छन् । उनले उद्धार टोलीलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउने तथा खोज तथा उद्धार कार्यमा सहजीकरण गरिरहेका छन् ।

    सुरुङभित्र अझै केही व्यक्ति फसेको विवरण प्राप्त भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राविधिक टोलीले संयुक्त रूपमा खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

    यसैबीच, गृहमन्त्री गुरुङको उद्धारस्थलमै सक्रियतामाथि भने आलोचना पनि भएको छ । केहीले विपद् व्यवस्थापनमा गृहमन्त्रीको मुख्य भूमिका निर्देशन, स्रोत–साधन परिचालन र समन्वयमा केन्द्रित हुनुपर्ने भन्दै उनी प्रत्यक्ष रूपमा फिल्डमा खटिनु उपयुक्त नभएको टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जालमा गृहमन्त्री अक्सिजन सिलिन्डर बोकेर उद्धारस्थलमा हिँडिरहेको दृश्य सार्वजनिक भएपछि कतिपयले त्यसलाई ‘फिल्ड स्टन्ट’ तथा लोकप्रियता हासिल गर्ने प्रयासका रूपमा समेत टिप्पणी गरेका छन् । यद्यपि, गृहमन्त्रीको पक्षबाट भने उद्धार कार्यलाई प्रभावकारी बनाउन स्थलगत उपस्थितिले समन्वय र सहजीकरणमा सहयोग पुगेको बताइएको छ ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट