काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवादको असर पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलमा समेत देखिन थालेको छ। तत्कालीन अध्यक्ष विद्वान गुरुङले अध्यक्ष पदबाट राजीनामा दिएपछि कांग्रेस सभापति गगनकुमार थापाले मनिष कोइरालालाई तरुण दलको अध्यक्षमा मनोनयन गरेका थिए। तर, कोइराला अध्यक्ष बनेको महिनौं बितिसक्दा पनि संगठनले अपेक्षित गति लिन नसकेको भन्दै उनको नेतृत्वमाथि प्रश्न उठ्न थालेपछि तत्कालीन केन्द्रीय समितिका नेताहरू पनि समानान्तर गतिविधिमा सक्रिय हुन थालेका छन्।
कोइरालालाई अध्यक्षमा मनोनयन गरिएपछि तरुण दललाई नयाँ नेतृत्वमार्फत महाधिवेशनको दिशामा अघि बढाउने अपेक्षा गरिएको थियो। तर अध्यक्ष मनोनित भएको लामो समय बितिसक्दा पनि पूर्ण केन्द्रीय कार्यसमिति गठन हुन सकेको छैन। त्यसैगरी महाधिवेशनको तयारीसम्बन्धी ठोस प्रक्रिया अघि बढ्न नसकेको भन्दै कोइराला नेतृत्वप्रति संगठनभित्र असन्तुष्टि बढेको छ।
कोइरालाको नेतृत्वमाथि प्रश्न उठाउने नेताहरूले उनको संगठनात्मक पृष्ठभूमिलाई समेत बहसको विषय बनाएका छन्। उनीहरूका अनुसार तरुण दलको पूर्णकालीन केन्द्रीय सदस्यसमेत नरहेका कोइरालालाई एकाएक अध्यक्षको जिम्मेवारी दिइनु नै संगठनभित्र असन्तुष्टि पैदा हुने एउटा कारण हो। लामो समयदेखि संगठनमा काम गरेका र विभिन्न तहमा जिम्मेवारी सम्हालेका नेताहरूलाई पन्छाएर संगठनको आन्तरिक संरचनामा सीमित अनुभव भएका व्यक्तिलाई नेतृत्वमा ल्याउँदा अहिलेको अवस्था सिर्जना भएको उनीहरूको दाबी छ।
अध्यक्षमा मनोनयन भएपछि कोइरालाको पहिलो प्राथमिकता संगठनको पूर्ण संरचना निर्माण र महाधिवेशनको तयारी हुनुपर्नेमा त्यसतर्फ पर्याप्त काम हुन नसकेको असन्तुष्ट पक्षको आरोप छ। महिनौं बितिसक्दा पनि केन्द्रीय समिति गठन नहुनु, संगठनको नियमित गतिविधिलाई संस्थागत रूपमा अघि बढाउन नसक्नु र महाधिवेशनको प्रक्रिया स्पष्ट रूपमा अगाडि नबढ्नुले अध्यक्षको कार्यक्षमतामाथि नै प्रश्न उठाएको उनीहरूको भनाइ छ।
तरुण दलको कार्यालय सञ्चालनको विषयमा समेत कोइराला नेतृत्व आलोचनामा परेको छ। केन्द्रीय कार्यालय र ‘सम्पर्क कार्यालय’को भूमिका तथा अधिकार स्पष्ट रूपमा छुट्याउन नसकिएको भन्दै संगठनभित्र प्रश्न उठेको हो। संगठनका औपचारिक पत्राचार, बैठक तथा निर्णयहरू स्पष्ट केन्द्रीय संरचनाबाट सञ्चालन हुनुपर्नेमा कार्यालय व्यवस्थापनमै अन्योल देखिनु नेतृत्वको संस्थागत कमजोरीका रूपमा असन्तुष्ट पक्षले व्याख्या गरेको छ।
कोइराला नेतृत्वको अर्को आलोचना संगठनको राजनीतिक भूमिकासँग जोडिएको छ। तरुण दलजस्तो ठूलो युवा संगठनले महँगी, बेरोजगारी, जनजीविकाका समस्या तथा युवासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारलाई प्रभावकारी खबरदारी गर्नुपर्ने भए पनि पछिल्लो समय त्यस्तो राजनीतिक हस्तक्षेपकारी भूमिका देखिन नसकेको असन्तुष्ट नेताहरूको भनाइ छ। उनीहरूका अनुसार संगठन आफ्नै नेतृत्व र संरचनाको विवादमा अल्झिँदा जनसरोकारका मुद्दा ओझेलमा परेका छन्।
यसैबीच, कोइराला नेतृत्वको कमजोरीमाथि प्रश्न उठिरहेका बेला तत्कालीन अध्यक्ष विद्वान गुरुङसँगै काम गरेका पुरानो केन्द्रीय समितिका नेताहरू भने पुनः सक्रिय हुन थालेका छन्। शेरबहादुर देउवा पक्षसँग निकट मानिएका अम्बिका बास्कोटा, दिल लामा, रत्न महर्जन, तीर्थ गौतम, रोहित लामा, जय राम दाहाल र निरज महर्जनलगायत नेताहरूले तत्कालीन केन्द्रीय समिति अझै कायम रहेको दाबी गर्दै राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गरिरहेका छन्।
उनीहरूको मुख्य तर्क विद्वान गुरुङले अध्यक्ष पदबाट राजीनामा दिए पनि त्यससँगै सम्पूर्ण केन्द्रीय समिति स्वतः विघटन नहुने भन्ने छ। अध्यक्षको पद रिक्त हुनु र कार्यसमिति विघटन हुनु फरक विषय भएको उनीहरूको दाबी छ। यही आधारमा उनीहरूले आफूहरू तत्कालीन केन्द्रीय समितिको निरन्तरता भएको दाबी गर्दै आएका छन्।
तत्कालीन केन्द्रीय सदस्य अम्बिका बास्कोटाले अध्यक्षले राजीनामा दिँदैमा सम्पूर्ण समिति विघटन नहुने दाबी गरेकी छन्। उनका अनुसार अध्यक्ष पद खाली भए पनि केन्द्रीय समिति यथावत रहन्छ। यही दाबीका आधारमा पुरानो समितिका नेताहरूले मनिष कोइरालाको नेतृत्वलाई चुनौती दिँदै आफ्नै ढंगबाट संगठनात्मक गतिविधि अघि बढाइरहेका छन्।
विवादको प्रभाव अहिले तरुण दलका सामाजिक गतिविधिमा समेत प्रस्ट देखिन थालेको छ। अध्यक्ष मनिष कोइराला केही युवा तथा राहत सामग्रीसहित धादिङ क्षेत्रमा सक्रिय भइरहेका बेला तत्कालीन केन्द्रीय समितिका नेताहरू चामलका बोरा तथा अन्य राहत सामग्री लिएर नुवाकोट र रसुवातर्फ पुगेका छन्। एउटै संगठनका नाममा दुई समूहले छुट्टाछुट्टै रूपमा राहत तथा सामाजिक गतिविधि सञ्चालन गर्न थालेपछि तरुण दलभित्रको समानान्तर गतिविधि अब व्यवहारमै देखिन थालेको हो।
यसअघि संगठनभित्र सीमित रहेको नेतृत्वको असन्तुष्टि अहिले सार्वजनिक गतिविधिमा समेत रूपान्तरण हुन थालेको छ। एकातिर गगन थापा नेतृत्वको कांग्रेसले मनोनयन गरेको अध्यक्षका रूपमा कोइराला संगठन सञ्चालन गरिरहेका छन् भने अर्कोतिर देउवा पक्षसँग निकट मानिएका तत्कालीन केन्द्रीय सदस्यहरू आफूहरू नै तरुण दलको वैधानिक निरन्तरता भएको दाबी गर्दै मैदानमा देखिएका छन्।
तरुण दलका तत्कालीन सिनियर पदाधिकारीहरू रोजन राई, केदारमानसिंह बस्नेत, दिनेशकुमार राई, प्रकाश महर्जन, वीरेन्द्र सल्यानी, सञ्जय सिलवाल, सरोज न्यौपाने र नवीन राईलगायत भने अहिलेसम्म कुनै पक्षको गतिविधिमा खुलेर देखिएका छैनन्। यद्यपि, उनीहरू कोइराला नेतृत्वप्रति असन्तुष्ट रहेको दाबी असन्तुष्ट पक्षका एक नेताले गरेका छन्।
ती नेताका अनुसार मनिष कोइरालाको नियुक्ति प्रक्रिया, उनको संगठनात्मक पृष्ठभूमि संगै कार्यसमिति गठन गर्न नसक्नु तथा एकल नेतृत्वको शैलीमा संगठन सञ्चालन गर्न खोजिएको विषयमा सिनियर तरुण नेताहरू असन्तुष्ट छन्। उनका अनुसार तरुण दलजस्तो देशव्यापी युवा संगठनलाई संस्थागत र सामूहिक निर्णय प्रक्रियाबाट अघि बढाउनुपर्नेमा त्यसो हुन नसक्दा पुरानो नेतृत्वसँग आबद्ध नेताहरू समानान्तर गतिविधिमा आउन बाध्य भएका हुन्।
यसरी हेर्दा तरुण दलको अहिलेको विवादको सुरुवात नै विद्वान गुरुङको राजीनामापछि भएको नेतृत्व परिवर्तनबाट भएको देखिन्छ। गुरुङले अध्यक्ष पदबाट राजीनामा दिएपछि गगन थापाले मनिष कोइरालालाई अध्यक्षमा मनोनयन गरे। तर नयाँ अध्यक्षले संगठन भित्रको असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा पुरानो समितिका नेताहरूले आफ्नो अस्तित्व र वैधानिकताको दाबी गर्दै छुट्टै गतिविधि अघि बढाउन थालेका छन्।
अर्कोतर्फ, देउवा पक्षसँग निकट मानिएका पुरानो समितिका नेताहरूले समानान्तर गतिविधि बढाउँदै लगेपछि कोइरालाका लागि चुनौती झनै थपिएको छ। पार्टी सभापति गगन थापाको निर्णयबाट अध्यक्ष बनेका कोइरालाले पार्टीको राजनीतिक समर्थनलाई संगठनभित्रको स्वीकार्यतामा बदल्न नसके तरुण दलमा दुईवटा शक्ति केन्द्र थप बलियो हुने अवस्था देखिन्छ।
तरुण दलको अहिलेको अवस्थाले कांग्रेसभित्रको नेतृत्व संघर्षको असर भ्रातृ संगठनसम्म कसरी पुगिरहेको छ भन्ने पनि देखाएको छ। एकातिर नयाँ अध्यक्षको कार्यक्षमतामाथि प्रश्न, अर्कोतिर पुरानो समितिको वैधानिकताको दाबी र त्यससँगै सुरु भएको समानान्तर गतिविधिले तरुण दललाई महाधिवेशनतर्फ लैजानुभन्दा पहिले नै नेतृत्व र संरचनाको विवाद समाधान गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।
अब कोइरालासामु सबैभन्दा ठूलो चुनौती पार्टीले दिएको अध्यक्षको जिम्मेवारी कायम राख्नु मात्र नभई संगठनभित्र आफ्नो नेतृत्वको स्वीकार्यता स्थापित गर्नु बनेको छ। पूर्ण केन्द्रीय कार्यसमिति निर्माण, महाधिवेशनको स्पष्ट प्रक्रिया अघि बढाउने, कार्यालय र संगठनात्मक संरचना व्यवस्थित गर्ने तथा महँगी, बेरोजगारी र युवाका जनसरोकारका मुद्दामा प्रभावकारी राजनीतिक हस्तक्षेप गर्न नसके उनको नेतृत्वमाथिको असन्तुष्टि अझ बढ्न सक्ने देखिन्छ।
यसैबीच पुरानो समितिका नेताहरूको समानान्तर सक्रियता बढ्दै गएमा तरुण दलमा विवाद थप संस्थागत बन्ने जोखिम छ। त्यसैले अहिलेको अवस्थामा कांग्रेस नेतृत्वका लागि प्रश्न केवल मनिष कोइरालालाई अध्यक्ष बनाउने निर्णय सही थियो कि थिएन भन्नेमा सीमित छैन; उक्त निर्णयपछि संगठनलाई एकताबद्ध बनाउन किन सकिएन र दुई धारलाई एउटै संस्थागत संरचनामा कसरी ल्याउने भन्ने चुनौतीसमेत उत्तिकै गम्भीर बनेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया