logo

२०८३ भाद्र २० शनिबार

logo
  • २०८३ भाद्र २० शनिबार
  • माथिल्लो त्रिशूली–१ मा ६ शव भेटिए, बाढीको १० दिनपछि पनि सयौँको अवस्था अज्ञात

    703Shares
    माथिल्लो त्रिशूली–१ मा ६ शव भेटिए, बाढीको १० दिनपछि पनि सयौँको अवस्था अज्ञात

    काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि हराइरहेकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनास्थलबाट शुक्रबार ६ जनाको शव फेला परेको छ । बाढी आएको १० दिन बितिसक्दा पनि विभिन्न जलविद्युत् आयोजनामा कार्यरत सयौँ व्यक्ति अझै सम्पर्कविहीन छन् ।

    २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङ तथा हेडवर्क्स क्षेत्रमा हराइरहेकाहरूको खोजीका क्रममा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेर ६ जनाको शव फेला पारिएको नेपालका निजी ऊर्जा उत्पादकहरूको संस्था इप्पानले जनाएको छ । सल्लेटार क्षेत्रमा भेटिएका ती शव नेपाली सेनाले बट्टार ल्याएको छ ।

    आयोजनामा उद्धार तथा खोजीका लागि कोरियाली उद्धार टोली, शेर्पाहरू, सर्च तथा ड्रोन टोली परिचालन गरिएको छ । विशेष क्यामेरा र तालिमप्राप्त कुकुरसमेत खोजीमा प्रयोग भइरहेका छन् ।

    उद्धारका लागि कम्पनीले १५ वटा मेसिन तथा उपकरण आयोजनास्थलमा पुर्‍याएको जनाएको छ । सुरुङभित्र जमेको पानी निकाल्न वाटर पम्प सञ्चालनमा राखिएको छ भने शनिबारदेखि खोजी तथा उद्धारलाई थप तीव्रता दिने तयारी गरिएको छ ।

    बाढी आउनुअघि माथिल्लो त्रिशूली–१ आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए । तीमध्ये हालसम्म ८७६ जनाको उद्धार भइसकेको छ । तर ५५१ जना अझै सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ ।

    प्रवर्द्धक कम्पनी तथा निर्माण कम्पनी डोसान र पावर चाइनाको व्यवस्थापन टोलीले गृहसचिवलाई भेटेर उद्धारका लागि थप मेसिन तथा उपकरण आयोजनास्थलसम्म लैजान सहजीकरण गरिदिन आग्रह गरेको छ ।

    रसुवागढीमा उपकरण पुग्नै सकेन

    १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा भने शुक्रबार पनि विद्युत्गृहमा फसेकाहरूको खोजी सुरु हुन सकेन ।

    शेर्पाहरूको टोली परिचालन गरी सम्पर्कविहीन भएकाहरूको खोजीको प्रयास गरिए पनि नदीमा पानीको निरन्तर बहाव र खराब मौसमका कारण आवश्यक मेसिनरी उपकरण आयोजनास्थलसम्म पुर्‍याउन नसकिएको आयोजनाले जनाएको छ ।

    आवश्यक उपकरण त्रिशूली हुँदै धुन्चेसम्म पुर्‍याइए पनि त्यहाँबाट आयोजनास्थलसम्म लैजान कठिनाइ भएको हो । साँझ आयोजनास्थलबाट धुन्चे फर्किन समस्या हुने भएकाले शनिबारदेखि सर्जट्याङ्क रहेको अग्लो स्थानमा क्याम्प बनाएर उद्धार टोली परिचालन गर्ने तयारी गरिएको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीले जनाएको छ ।

    यस आयोजनाबाट ९३ जना सम्पर्कविहीन छन् ।

    त्रिशूली–३ ‘बी’ मा १९१ जनाको अवस्था अज्ञात

    ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाबाट हराइरहेकाहरूको अवस्थाबारे पनि १० दिन बित्दा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

    आयोजनाबाट १९१ जना सम्पर्कविहीन रहेको जनाइएको छ । हराउनेमा निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १४१ जना, प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनीका २१ कर्मचारी, कर्मचारीका सात परिवारका सदस्य, परामर्शदाता चिलिमे इन्जिनियरिङका १२ जना, एक सुरक्षा गार्ड र काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपका लागि आएका तीन इन्जिनियरिङ विद्यार्थी छन् ।

    सुरुङमा कार्यरत २३ जना भने सुरक्षित रूपमा बाहिर निस्किएका थिए ।

    आयोजनाको विद्युत्गृह रहेको क्षेत्रमा साना मेसिन प्रयोग गरेर उत्खनन गर्दा खोला पुगेको पाइएको छ । त्रिशूली नदीको सतहदेखि दुई मिटरसम्म उत्खनन गर्दा समेत विद्युत्गृहको संरचना फेला नपरेपछि १२ मिटरसम्म खन्ने तयारी गरिएको छ ।

    सुरक्षाकर्मीले आयोजनाको सर्जट्याङ्कदेखि पेनस्टकसम्म खोजी गरे पनि केही फेला नपरेको जनाइएको छ । अडिट सुरुङबाट थप मेसिनरी उपकरण लैजान सकिन्छ कि भन्नेबारे पनि प्रयास भइरहेको छ ।

    निरन्तर वर्षा र नदीमा पानीको सतह बढिरहेकाले ठूला मेसिनरी उपकरण आयोजनास्थलसम्म पुर्‍याउन कठिनाइ भइरहेको आयोजनाले जनाएको छ ।

    २१६ घण्टापछि दुई जनाको सकुशल उद्धार

    यसैबीच, बाढीपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ को विद्युत्गृहमा फसेका दुई जनाको शुक्रबार बिहान सकुशल उद्धार भएको छ ।

    बाढी आएको २१६ घण्टापछि कोइलाडी–८, सप्तरीका सन्जय साह र काठमाडौंका कबिर महर्जनको उद्धार गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अन्य फसेकाहरूको खोजी तथा उद्धार प्रयास भने जारी छ ।

    अन्य आयोजनामा पनि खोजी जारी

    २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा सम्पर्कविहीन ४१ जनामध्ये बिहीबार दुई जनाको शव फेला परेको थियो । अझै ३९ जनाको अवस्था अज्ञात छ ।

    शुक्रबार नेपाली सेनाले सुरुङभित्र प्रवेश गरेर खोजी गरेको थियो । आयोजनाबाट १९ जनाको उद्धार भएको छ भने दुई जनाको शव फेला परिसकेको छ ।

    त्यस्तै, चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहमा फसेका ६ जनाको पनि उद्धार हुन सकेको छैन । मैलुङखोला जलविद्युत् आयोजनामा कार्यरत सात जना तथा निर्माणाधीन रसुवा भोटेकोशी आयोजनाका चार जना पनि अझै सम्पर्कमा आएका छैनन् ।

    बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ, भूमिगत विद्युत्गृह तथा हेडवर्क्समा फसेकाहरूको खोजी र उद्धारमा सुरक्षा निकायसहित विभिन्न प्राविधिक तथा उद्धार टोली परिचालन भए पनि निरन्तर वर्षा, बढ्दो नदीको बहाव र भारी उपकरण आयोजनास्थलसम्म पुर्‍याउन नसक्नु उद्धारको मुख्य चुनौती बनेको छ ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट