logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • ऊर्जा मन्त्री खड्का र भारतका जलशक्ति मन्त्रीबीच भेट, पञ्चेश्वर लगायत जलस्रोत परियोजनाबारे सहमति

    1KShares
    ऊर्जा मन्त्री खड्का र भारतका जलशक्ति मन्त्रीबीच भेट, पञ्चेश्वर लगायत जलस्रोत परियोजनाबारे सहमति

    काठमाडौँ| नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका जलशक्ति मन्त्री सीआर पाटिलबीच भारतको नयाँदिल्लीमा भेटवार्ता सम्पन्न भएको छ। भारतको राजधानी नयाँदिल्लीमा आयोजना भइरहेको ‘इण्डिया इनर्जी वीक–२०२५’ मा सहभागी हुन पुगेका मन्त्री खड्काले श्रमशक्ति भवनमा भारतीय समकक्षीसँग छलफल गर्नुभएको हो।

    भेटमा नेपाल–भारत ऊर्जा तथा जलस्रोतसम्बन्धी सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो। विशेष गरी पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सप्तकोशी परियोजना, बाढी तथा डुबान व्यवस्थापन, महाकाली सन्धि कार्यान्वयन र अन्य जलस्रोत परियोजनाहरूलाई प्राथमिकतामा राख्दै वार्ता भएको हो।

    पञ्चेश्वर परियोजनासम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिट्टै टुंगो लगाएर परियोजना अघि बढाउने सहमति भएको छ। नेपालका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीका अनुसार नेपालले महाकाली सन्धिअन्तर्गत प्राप्त गर्नुपर्ने पानीको व्यवस्थापन सुनिश्चित गर्ने विषयमा पनि ठोस समझदारी बनेको छ।

    यसैगरी, टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिङ्क नहर निर्माण पूरा भइसकेको भए पनि पानी सञ्चालन कार्यविधि अन्तिम चरणमा पुगेको छ। छलफलमा नेपालले महाकाली सन्धिअनुसार पाउने पानीको सहज वितरणका लागि आवश्यक प्रक्रिया तत्काल टुंग्याउने सहमति भएको छ।

    नेपाल–भारत संयुक्त बाढी तथा डुबान व्यवस्थापन समितिको १४औँ बैठक आगामी मार्च २२ देखि २४ सम्म आयोजना गर्ने निर्णय भएको छ। सो बैठकका लागि नेपाल सरकारले छिट्टै भारतलाई औपचारिक पत्राचार गर्नेछ। सप्तकोशी बहुउद्देश्यीय परियोजनाबारे पनि दुवै पक्षले नियमित बैठक गर्दै अघि बढ्ने सहमति जनाएका छन्।

    बैठकमा भारतीय जलशक्ति मन्त्री पाटिलले नेपाल–भारत जलस्रोत सहकार्यलाई सुदृढ बनाउन भारत सरकार प्रतिबद्ध रहेको बताउनु भयो। उहाँका अनुसार पञ्चेश्वर आयोजनाको डीपीआरलाई छिट्टै अन्तिम रूप दिने र परियोजनालाई अघि बढाउने विषयमा भारत सकारात्मक रहेको छ।

    मन्त्री खड्काले पछिल्ला वार्ताहरूले नेपाल–भारत जलस्रोत सहकार्यलाई नयाँ गति दिएको उल्लेख गर्दै विगत नोभेम्बर ५ मा भएको द्विपक्षीय छलफलले यस क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउन भूमिका खेलेको स्मरण गर्नुभयो।

    उक्त बैठकमा नेपालका ऊर्जा सचिव सुरेश आचार्य, वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी, सहसचिव सन्दीपकुमार देव, मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठ लगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।

    नेपाल–भारतबीच जलस्रोत र ऊर्जा क्षेत्रमा सहकार्यलाई तीव्रता दिने सहमति बनेसँगै पञ्चेश्वर, सप्तकोशी तथा बाढी व्यवस्थापन जस्ता बहुप्रतीक्षित परियोजनाहरू अघि बढ्ने अपेक्षा गरिएको छ। अबका दिनमा यी सहमति कार्यान्वयनतर्फ कसरी अघि बढ्छन् भन्नेमा ध्यान केन्द्रित हुनेछ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट