भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी महिनादेखि सेवा सुरु गर्न दुई अन्तर्राष्ट्रिय एअरलाइन्स कम्पनीले उडान तालिका स्वीकृत गराएको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार उक्त विमानस्थलबाट उडान अनुमति लिइसकेको अर्को एउटा अन्तर्राष्ट्रिय कम्पनीले भने तालिका स्वीकृत गराउन बाँकी छ।
उद्घाटन भएको लामो समयसम्म पनि नियमित रूपमा अन्तर्राष्ट्रिय उडानहरू हुन नसकेको भैरहवा विमानस्थलबाट हाल नेपाल वायुसेवा निगमले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।
उडान अनुमति लिएका तीन कम्पनी
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार भैरहवा विमानस्थलबाट उडान गर्नका लागि यूएईको फ्लाईदुबई, कुवेतको जजीरा एयरवेज र हालै नेपालमा उडान थालेको थाई एअर एशियाले अनुमति पाएका छन्।
उनले भने, ‘उडान अनुमति पाएकामध्ये फ्लाई दुबई र जजीराले सेड्यूल पनि स्वीकृत गराइसकेका छन् तर थाई एअर एशियाले चाहिँ सेड्यूल स्वीकृत गराइसकेको छैन।’
यही अक्टोबर २ बाट नेपालमा उडान सुरु गरेको थाई एअर एशियाले ब्याङ्कक -काठमाण्डू चार र ब्याङ्कक-भैरहवा चारवटा उडान गर्ने गरी अनुमति पाएको उनले बताए।
‘उसले भैरहवामा उडान गर्न पाउने नीतिगत अनुमति पाइसकेको छ, अब तालिका स्वीकृत गराउन मात्र बाँकी हो’, उनले भने । उक्त कम्पनीको प्राविधिक टोलीले गत अक्टोबर ३ मा भैरहवा गएर विमानस्थलको प्राविधिक निरीक्षण गरिसकेकाले चाँडै तालिका स्वीकृतिका लागि पठाउनसक्ने भुलको भनाइ छ।
ठूलो लगानीमा बनाइएको उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू गराउन नसकेको भन्दै सरकारको व्यापक आलोचना हुँदै आएको छ। अधिकारीहरूले अहिले अनुमति पाएकाबाहेक अन्य कम्पनीहरूले पनि उडान अनुमति लिन चासो देखाएकाले अब त्यस्तो आलोचनाको औचित्य नरहने दाबी गरेका छन्।
फ्लाई दुबई र जजीराको सेवा कहिले सुरु हुन्छ?
भैरहवा विमानस्थलका निमित्त महाप्रबन्धक सन्तोषकुमार पोखरेलका अनुसार फ्लाईदुबई र जजीरा दुवैले यही अक्टोबर २७ देखिको उडान तालिका स्वीकृत गराएका छन्।
“फ्लाईदुबईले नोभेम्बर १० देखि उडान सुरु गर्ने पत्र पठाइसकेको छ। जजीराले भने कुन दिनदेखि उडान हुन्छ भन्ने यकिन मिति दिन बाँकी छ,” पोखरेलले भने।
कम्पनीहरूले दिएको जानकारीअनुसार नै उडानको व्यवस्थापनका लागि विमानस्थलले तयारी गरिरहेको उनले बताए। प्राधिकरणका सूचना अधिकारी भुलले दिएको जानकारी अनुसार फ्लाईदुबईले हप्ताका सातै दिन एकएक उडान गर्ने तालिक स्वीकृत गराएको छ। जजीराले भने मङ्गलवार, बिहीवार र शनिवार गरी सातामा तीन उडान गर्ने स्वीकृति लिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया