काठमाडौँ । जेन्जी आन्दोलनले परम्परागत राजनीतिक शैलीप्रति स्पष्ट अस्वीकार व्यक्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन्।
जेन्जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण तथा अवसरविहीनताविरुद्ध सचेत युवा पुस्ता शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको बताएका हुन्।
आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनालाई दुःखद् भन्दै उनले त्यस क्रममा ज्यान गुमाएका आन्दोलनकारी तथा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। परिवर्तनका लागि अब कुनै पनि आमाको काख रित्तिन नपरोस् भन्ने कामना पनि उनले गरेका छन्।
आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएका र मानसिक तथा शारीरिक चोट भोगेकाहरूको उचित उपचार, परिवारको हेरचाह तथा दीर्घकालीन पुनर्स्थापनाको जिम्मेवारी राज्यले पूरा गर्नुपर्ने लामिछानेले बताएका छन्।
उनले जेन्जी आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त रूपमा भएको दाबी गर्दै कुनै पनि दल वा नेताले त्यसलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नहुने बताएका छन्।
लामिछानेका अनुसार आन्दोलनले डिजिटल युगमा हुर्किएको युवा पुस्ता स्वाभिमानी रहेको र आफ्नै देशभित्र भविष्य खोजिरहेको स्पष्ट सन्देश दिएको छ। युवा पुस्ताले अब कुशासन स्वीकार नगर्ने पनि उनले बताएका छन्।
उनले युवा, नागरिक समाज तथा आम नागरिकलाई रचनात्मक खबरदारी गर्दै रास्वपाको कामको समेत निर्मम समीक्षा गर्न आग्रह गरेका छन्। नागरिकमा निराशा फैलिन दिन नहुने भन्दै उनले नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
जेन्जी आन्दोलनले देखाएको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट राष्ट्रिय स्वतन्त्र पार्टी एक इन्च पनि विचलित नहुने दृढता पनि लामिछानेले व्यक्त गरेका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया