logo

२०८३ श्रावण १ शुक्रबार

logo
  • २०८३ श्रावण १ शुक्रबार
  • पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास

    898Shares
    पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या र चिन्ताहरू क्रमशः समाधान हुने विश्वास व्यक्त गरेका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल संघ नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको विकास यात्राको बलियो साझेदारका रूपमा अघि बढ्न आग्रह गरे। उनले कानुनको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (PPP) मार्फत गर्न सकिने सहकार्यका सम्भावनाबारे अध्ययन गर्न व्यवसायीलाई सुझाव दिए।

    छलफलका क्रममा होटल संघ नेपालका पदाधिकारीहरूले देशका होटलहरू वार्षिक करिब ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता भए पनि हाल करिब १२ लाख पर्यटक मात्र नेपाल भित्रिरहेको जानकारी गराए। पर्यटक आगमन वृद्धि भए रोजगारी सिर्जना हुने र वैदेशिक रोजगारीतर्फ जाने नेपाली युवालाई स्वदेशमै अवसर उपलब्ध गराउन होटल उद्योग प्रभावकारी माध्यम बन्न सक्ने उनीहरूको भनाइ थियो।

    व्यवसायीहरूले आरोग्य पर्यटन, गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) तथा सीमापार पर्यटनमा नेपालमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिन, साना तथा मझौला होटलका लागि वातावरणीय अध्ययनसम्बन्धी प्रक्रिया सहज बनाउन तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरे।

    त्यसैगरी, नेपाल वायुसेवा निगमको सेवा सुधार, होटल क्षेत्रसँग सम्बन्धित कानुन परिमार्जन तथा आरोग्य पर्यटन र गन्तव्य विवाह प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधार गर्न पनि व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

    छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, होटल संघ नेपालका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महतको सहभागिता रहेको थियो।



    फास्ट न्युज    
  • २०८३ असार ३१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट