एजेन्सी । भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धमा कुनै पनि तेस्रो पक्षको भूमिका आवश्यक नभएको स्पष्ट पारेको छ। नियमित मिडिया ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारत–नेपाल सीमा सम्बन्धी विषयहरू द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने बताएका हुन्।
उनका अनुसार भारत–नेपाल सीमा करिब ९८ प्रतिशतसम्म सीमाङ्कन भइसकेको छ भने केही क्षेत्रहरू अझै समाधान हुन बाँकी छन्। उनले गण्डक नदीको धार परिवर्तनका कारण केही सीमा समस्या उत्पन्न भएको उल्लेख गर्दै ती क्षेत्रहरूमा दुवै देशले संयुक्त रूपमा नक्साङ्कन र प्रमाणीकरण गरिरहेको जानकारी दिए।
जयसवालले सीमाङ्कित क्षेत्रहरूमा कतिपय स्थानमा भूमि कब्जा तथा अतिक्रमणका घटनाहरू देखिएको बताउँदै ती विषय पनि द्विपक्षीय संयन्त्रमार्फत सम्बोधन भइरहेको दाबी गरे।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवाद समाधानका लागि बेलायत र चीनजस्ता तेस्रो पक्षलाई संलग्न गराउन सकिने संकेत गरेका विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ताले भारतले यस्तो विषयमा प्रत्यक्ष वार्ता र द्विपक्षीय संवादमै विश्वास गर्ने स्पष्ट पारे।
यसैबीच, नेपालमा प्रधानमन्त्री शाहको सीमासम्बन्धी अभिव्यक्तिप्रति राजनीतिक दलहरूले आलोचना गरेका छन्। नेपाल परराष्ट्र मन्त्रालयले भने उक्त अभिव्यक्तिबारे पछि स्पष्टीकरण दिएको जनाइएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया