logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • कांग्रेसमा नियमित र विशेष महाधिवेशनबारे दुई पक्षबीच छलफल

    982Shares
    कांग्रेसमा नियमित र विशेष महाधिवेशनबारे दुई पक्षबीच छलफल

    काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको रूपरेखाबारे मतभेद भइरहेका बेला नियमित महाधिवेशन माग गर्ने नेताहरू र विशेष महाधिवेशनका पक्षधरबीच सोमबार बिहान करिब चार घण्टा लामो बैठक बसेको छ।

    केन्द्रीय सदस्य आङ्गेलु शेर्पाका अनुसार सभापति शेरबहादुर देउवा पक्षका २७ जना केन्द्रीय सदस्यले चुनावअघि नै नियमित महाधिवेशन गर्नुपर्ने धारणा राख्दै शीर्ष नेताहरूसँग लगातार भेटघाट गर्दै आएका छन्। उनीहरूले देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, तथा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर आगामी चुनावअघि १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने माग अघि सारेका छन्।

    यता, संस्थापन विरोधी समूहका नेता डा. शेखर कोइरालालाई आइतबार भेटेर पनि ती सदस्यहरूले सोही मागमा समर्थन जुटाउन आग्रह गरेका थिए। आज भने उनीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेका नेताहरूसँग छलफल गरेका हुन्।

    शेर्पाका अनुसार छलफलमा आफ्नो पक्षले चुनावअघि महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने अडान राखेको थियो। तर विशेष महाधिवेशनका पक्षधरले समय निकै बितिसकेको भन्दै अब विशेष महाधिवेशनमै जोड दिनुपर्ने धारणा प्रस्ट्याएका छन्।

    मंसिर ११ गते बस्ने केन्द्रीय समितिको बैठकले महाधिवेशन सम्बन्धी निर्णय लिएपछि पुनः छलफल गर्ने समझदारी भएको शेर्पाले बताए। उनका अनुसार, “महाधिवेशनबिनै चुनावतर्फ जान नमिल्नेमा दुबै पक्ष एकमत छौं।”

    छलफलमा विशेष महाधिवेशनका लागि पहल गरिरहेका गुरुराज घिमिरे, देवराज चालिसे, जनक गिरी, सुवास पोखरेल, नारायण भट्टराई, बलदेव तिमिल्सना, युवराज पाण्डेलगायत नेताहरू सहभागी थिए।

    विशेष महाधिवेशन पक्षधर बलदेव तिमिल्सिनाले भने, “उहाँहरूले नियमित महाधिवेशन फास्ट–ट्रयाकमार्फत गर्न सकिने कुरा राख्नुभयो। तर हामीले अब विशेष महाधिवेशनबाहेक विकल्प नरहेको प्रष्ट्याएका छौं।”



    फास्ट न्युज    
  • २०८२ मंसिर ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार