logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • आकर्षक तलबको लोभ देखाएर मानव बेचबिखनमा संलग्न दुईजना पक्राउ

    1.1KShares
    आकर्षक तलबको लोभ देखाएर मानव बेचबिखनमा संलग्न दुईजना पक्राउ

    काठमाडौँ, ९ साउनः भारतमा आकर्षक तलबको लोभ देखाएर मानव बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार सिन्धुलीका २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोकका ४५ वर्षीय रेशमबहादुर खत्रीलाई पक्राउ गरी अनुसन्धान थालिएको हो ।

    निजहरूलाई अदालतमा पेस गरिएकामा अदालतको आदेशअनुसार पाँच दिनको म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रतिवादी राजकुमार अच्छामीसमेतका व्यक्तिले जाहेरवालालाई भारतमा चालकको काममा लगाइदिने र खाना, बस्नबाहेक मासिक तलब ३५ हजार भारु तथा ओभरटाइमसमेत हुन्छ भनी प्रलोभनमा पारेर भारत लगी बन्धक बनाएर बेचबिखन गरेका खुलेको छ ।

    “अनुसन्धानमा पीडितलाई राजकुमारले गत वैशाख १९ गते काठमाडौँ बल्खुबाट पर्सा वीरगञ्ज पु¥याइ रेशमबहादुरलाई हस्तान्तरण गरेका गरेका थिए । त्यहाँबाट उहाँले अटोरिक्सामा राखी भारतको रक्साल हुँदै पटना पु¥याएका हुन्”, प्रहरी उपरीक्षक कुँवरले भन्नुभयो ।

    पटनास्थित पुनपुन अजय स्टेशनमा रहेको वेल स्टार डाइनामिक कम्पनीमा प्रतिव्यक्ति रु १० हजार तिर्न लगाइ सात दिनसम्म तालिमका नाममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएका अनुसन्धानमा खुलेको प्रवक्ता कुँवरले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “पटनामा अन्य मानिसलाई फेसबुकमा इन्भाइट गर्न लगाई जाहेरवालालगायत अन्य पीडितलाई उक्त ठाउँमा घर परिवारसँग सम्पर्क हुन नदिने तथा खान बस्न नदिइ डर, त्रास, धाकधम्की दिई फेसबुक मेसेन्जरमा अन्य मानिससँग नयाँ आइडी बनाई कुरा गर्न लगाएका थिए ।” विभिन्न प्रलोभनमा पारी भारत बोलाई मोबाइलबाट अनलाइन स्क्यामिङका काम गर्न बाध्य बनाएका पाइएको पनि उहाँले बताउनुभयो ।

    दुई लाख बराबरको रकम लिई सो रकमको कपडा किन्न लगाई जबरजस्ती कागजसमेत गरी करिब थप दुई महिनासम्म बन्धक बनाएको पाइएको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिनुभयो । दुई महिनामा पछि पीडित उम्किएर साउन १ गते नेपाल आएका र ब्युरोमा मानव बेचबिखन तथा ओसारपसारअन्तर्गत मानव तस्करी कसुरमा जाहेरी दर्ता गरेका थिए । जाहेरीको अनुसन्धान गरी साउन ५ गते मुद्दा दर्ता गरिएका उनीहरुको खोजतलासका क्रममा राजकुमार अच्छामीलाई काठमाडौँको बल्खुबाट र रेशमबहादुर खत्रीलाई पर्सा पक्राउ गरिएको कुँवरले बताउनुभयो ।

    आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा उनीहरूलाई पाँच दिनको म्याद थप भई अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट