logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • पत्रकार सुरेश रकजको हत्यारालाई कडा कारवाही सहित उच्चस्तरीय छानविन माग गर्दै प्रेस संगठन आन्दोलनमा

    892Shares
    पत्रकार सुरेश रकजको हत्यारालाई कडा कारवाही सहित उच्चस्तरीय छानविन माग गर्दै प्रेस संगठन आन्दोलनमा

    काठमाडौं |समाजवादी प्रेस संगठन नेपालले पत्रकार सुरेश रजकको हत्या प्रकरणको बारेमा उच्चस्तरीय छानविन समिति बनाएर सत्य, तथ्य छानविन गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेको छ ।

    संगठनले बिहीबार काठमाडौंको रत्नपार्क, शान्तिबाटिकामा मौन प्रदर्शन गरेको छ । गत १५ चैतमा तिनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा एक घरमा पत्रकार रजकको जलेर मृत्यु भएको थियो । पत्रकार रजक सहित दुई जनाको मत्यु भएको थियो भने हिंसात्मक प्रदर्शनका क्रममा सरकारी, निजि, पार्टी कार्यालय, व्यापारिक भवनमा लुटपाट, आगजनी, तोडफोड समेत भएको थियो ।

    संगठनले पत्रकार रजकको मृत्यु नभई हत्या भएको जनाएको छ । रजकको हत्या बारेमा उच्चस्तरीय छानविन समिति गठन गरी छानविन गर्नुपर्ने, दोषीलाई कडा कारवाही गर्नुपर्ने, शहिद घोषणा गर्नुपर्ने, उनको परिवारलाई क्षतिपुर्ति दिनुपर्ने लगायतका माग गर्दै आन्दोलनमा उत्रेको संगठनका उपाध्यक्ष सुभाष साहले जनाएका छन् ।

    प्रदर्शन हिंसात्मक बनेको दृश्य छायांकन गरिरहेका संचारकर्मी रजकको रहस्यमय तवरले जलेर मृत्युभएपछि संगठनले विभिन्न माग गर्दै आन्दोलनमा उत्रेको हो । सभालाई समापन गर्दै संगठनका अध्यक्ष एवं वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले यति ठूलो घटना हुनु र जनधनको ठूलो क्षति हुँदा पनि सरकारले छानबिन आयोग गठन नगर्नुले घटना थप रहस्यमय भएको बताए ।

    ‘सरकारले आफ्नो गल्ती, कमजोरी लुकाउन छानबिन आयोग गठन नगरे पनि सुरेश रजकको हत्याको छानबिन आयोग पत्रकारहरुसँग सम्बन्धित संगठनहरुले मिलेर गर्नुपर्ने अवस्था आएको छ,’ श्रेष्ठले भने ।

    यस्तै नेपाल पत्रकार महासंघका पूर्वकार्यवाहक अध्यक्ष एवं वरिष्ठ पत्रकार रमेश विष्टले संचारकर्मी रजकको मृत्यु प्रकरणमा प्रदर्शन आयोजक प्रमुख नवराज सुवेदी र दुर्गा प्रसाईंमाथि संगठनले ज्यान मुद्दा जाहेरी दर्ता गर्नुपर्ने बताए ।

    दिवंगत सुरेश का दाजु दिनेश रजकले भाइको विभत्स तरिकाले हत्या गरेर पत्रिकाले छोपेको अवस्थामा शव फेला परेको जानकारी गराउँदै अपराधीहरुले घटनाको वास्तविकता लुकाउन सुरेशले त्यसबेला दृश्य छायांकन क्यामेरा र मोबाइल लुटेको बताए ।

    कार्यक्रममा वरिष्ठ पत्रकारहरु, संगठनका पदाधिकारी, सदस्य सहित बिभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । यस अघि संगठनले रजकको परिवारलाई आर्थिक सहयोग समेत गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट