काठमाडाै: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव, एकअर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा माघे सङ्क्रान्ति पर्वको महत्वपूर्ण योगदान रहने बताउनुभएको छ ।
माघे सङ्क्रान्ति पर्वको अवसरमा आज दाहालद्वारा जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालमा बसोबास गर्ने विविध जाति, जनजाति समुदायले आआफ्नो ऐतिहासिक मान्यता र परम्परा रहेको उल्लेख गरिएको छ । “आजका दिन मनाइने माघे सङ्क्रान्ति पर्वमा सबैलाई सुख, शान्ति र समृद्धि प्राप्त होस्”, सन्देशमा भनिएको छ ।
“नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षको उपलब्धिका रुपमा रहेको हाम्रो संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको राष्ट्रिय एकतालाई आत्मसात् गरेकाले विविध भाषा, संस्कृति, चाडपर्व र परम्परा हाम्रा पहिचान हुन्”, उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले थारू समुदायले माघी ‘माघे सकराँती’ भनेर मनाउने यो पर्वलाई नयाँ वर्ष आरम्भका रूपमा लिने भन्दै यो पर्वलाई हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्नुभयो । उहाँले थारू र मगर समुदायले बितेको वर्षको समीक्षासहित आजका दिनदेखि आगामी वर्षको कार्ययोजना बनाउने जनाउँदै अन्य समुदायले आ–आफ्नो परम्परा, विशेषता अनुसार हर्षोल्लासपूर्वक मनाउने बताउनुभयो ।
यस पर्वमा तिल, तरुल, घिउ, चाकु, सख्खरका परिकारहरू बनाएर खाने, विभिन्न सांस्कृतिक महोत्सव र झाँकी, पूजाआजा, पारिवारिक भेटघाट, सामाजिक पुनर्मिलन, धनुषवाण हान्ने खेललगायत क्रियाकलाप गरेर मनाउने गरिन्छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया