काठमाण्डाै ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मशेध प्रदेशकाे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । पाँच जनासँग जनही एक करोड र तीन जनासँग जनही ५० लाख रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गराएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
भ्रष्टाचारको मुद्दा लाग्नेहरूमा सचिव सिंहसहित कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन प्रमुख शंकरप्रसाद साह, कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल, सह लेखापाल ब्रजेशकुमार साह र युवरानी मत्स्य तथा कृषि फार्म प्रालीका सञ्चालक तथा अध्यक्ष लक्ष्मीनारायण यादव रहेका छन् । यस्तै मन्त्रालयका तत्कालीन पशु चिकित्सक रञ्जितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाशकुमार झा र कृषि विकास निर्देशनालय धनुषाका तत्कालीन कृषि अर्थविज्ञ विकासकुमार साहविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
आर्थिक वर्ष २०७९/८० मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश जनकपुरधामका खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रमुख एवम् कृषि ज्ञान केन्द्र, धनुषाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञले सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
नक्कली बिल भर्पाईकाे आधारमा भुक्तानी दिएको र विशेषता अनुसारको सामान खरिद नगरेको विषयमा आयोगमा उजुरी परेपछि आयोगले अनुसन्धान गरी मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया