काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारसँग सहकार्य गर्न खोज्दा आफ्ना स्वयंसेवकलाई कतिपय ठाउँमा परिचालन गर्न नदिइएको नेपाल तरुण दलका अध्यक्ष मनीष कोइरालाले गुनासो गरेका छन्।
विपद्को समयमा राजनीतिक दलका भ्रातृ संगठन तथा स्वयंसेवी संस्थाहरूलाई एकीकृत गरेर परिचालन गर्नुपर्नेमा त्यसअनुसारको समन्वय हुन नसकेको उनको भनाइ छ।
कोइरालाका अनुसार तरुण दलले सरकार तथा स्थानीय तहसँग समन्वय गरेरै राहत र व्यवस्थापनका काम अघि बढाउन खोजिरहेको छ। तर कतिपय प्रभावित क्षेत्रमा भने तरुण दलका स्थानीय नेता–कार्यकर्तालाई स्वयंसेवाका काममा सहभागी हुन नदिने र राहत सामग्री वितरणमा समेत सहज वातावरण नबनाउने अवस्था देखिएको छ।
विशेषगरी नुवाकोटको उदाहरण दिँदै उनले त्यहाँ नेपाली कांग्रेससँग आबद्ध स्वयंसेवकहरूलाई काम गर्न नदिइएको बताए।
“हामी सरकारसँग कोर्डिनेट गरेर काम गर्न खोजिरहेका छौँ। तर धेरै ठाउँमा सरकार हामीसँग कोर्डिनेट गर्न नखोजेको हो कि भन्ने देखिन्छ,” कोइरालाले भने।
उनका अनुसार सरकारको राहत वितरण प्रणालीलाई आफूहरूले सम्मान गर्दै सम्बन्धित पालिकामार्फत नै सामग्री उपलब्ध गराउने प्रयास भइरहेको छ। तर स्थानीय स्तरमा स्वयंसेवक परिचालन र राहत वितरणमा समेत अवरोध देखिनु दुःखद भएको उनले बताए।
कोइरालाले विपद्को समयमा सरकार एक्लैले सबै काम गर्न नसक्ने भन्दै राजनीतिक दल, स्थानीय तह र सामाजिक संघसंस्थाको जनशक्तिलाई व्यवस्थित रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए।
यसअघि कांग्रेस सभापति गगनकुमार थापा सहभागी विशेष सर्वदलीय बैठकमा समेत विपद् प्रभावित क्षेत्रमा सरकारसँग समन्वय गरेर काम गर्न निर्देशन दिइएको उनले स्मरण गरे। त्यसपछि तरुण दलले विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ता परिचालन गरी राहत, सरसफाइ र व्यवस्थापनको काम अघि बढाएको उनको भनाइ छ।
हाल तरुण दल केन्द्रबाट खटिएको टोलीले रसुवा, धादिङ र देवघाटलगायतका बाढी प्रभावित क्षेत्रमा सरसफाइ तथा आवश्यक व्यवस्थापनको काम गरिरहेको छ। बाढीले बगाएर ल्याएका सामग्री र फोहोरका कारण प्रभावित क्षेत्रको जनजीवन प्रभावित भएपछि स्थानीयसँग सहकार्य गर्दै टोलीले सरसफाइको काम थालेको हो।
अध्यक्ष कोइरालाले बाढीका कारण अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन पनि सरकारसँग आग्रह गरेका छन्।
राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदा ठूलो संख्यामा यात्रु तथा स्थानीय सडकमा अलपत्र परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन्। राजमार्ग खुलाउन सरकारले प्रयास गरिरहेको भए पनि अपेक्षित गतिमा काम अघि बढ्न नसकेको उनको टिप्पणी छ।
“सरकारले आफ्नो तर्फबाट खुलाउन नसकेको हो कि ? नगरेको हो ? भन्ने देखिन्छ। सरकारले नखोजेको त पक्कै होइन, तर यसमा ल्याकिङ देखिएको छ,” उनले भने।
विपद्को समयमा राहत वितरणसँगै सडक तथा यातायात सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
तरुण दलले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत, सरसफाइ र पुनःस्थापनाका कामलाई निरन्तरता दिने जनाएको छ। कोइरालाले प्रभावित क्षेत्रमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर उपलब्ध सबै जनशक्ति र स्रोतसाधनलाई एकीकृत रूपमा परिचालन गर्न सरकारलाई आग्रह गरेका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया