सिरियाका शक्तिशाली राष्ट्रपति बशर अल–असदको पतन भएको पाँच दिनमा सात हजार छ सयभन्दा बढी सिरियाली आप्रवासीले टर्कीको सीमा पार गरेर घर फर्किएको टर्कीका गृहमन्त्रीले आइतबार बताउनुभएको छ । एक्समा दिएको बयानमा गृहमन्त्री अली येरलिकायाले डिसेम्बर ९ र १३ को बीचमा प्रत्येक दिन ‘टर्कीबाट स्वेच्छाले फर्केका’ सिरियालीहरूको कुल सङ्ख्या सूचीबद्ध गर्नुभएको छ । यसमा पाँच दिनको सङ्ख्या सात हजार छ सय २१ आप्रवासी थिए।
टर्की सन् २०११ मा गृहयुद्ध सुरु भएपछि सिरियाबाट भागेका करिब ३० लाख शरणार्थीहरूको घर हो र असदको पतनले धेरैजना घर फर्कने आशा जगाएको छ । सोमबार बिहान एएफपीका संवाददाताहरूले सिरियाको दोस्रो सहर अलेप्पोबाट करिब ५० किलोमिटर पश्चिममा रहेको सिलभेगोजु सीमामा सयौँ शरणार्थी भेला भएको देखे र गृह मन्त्रालयको तथ्याङ्कले त्यस दिन एक हजार दुई सय ५९ जनाले पार गरेको देखाएको छ ।
येरलिकायाका अनुसार अर्को दिन एक हजार छ सय ६९, बुधबार एक हजार दुई सय ९३, बिहीबार एक हजार पाँच सय ५३ र शुक्रबार एक हजार आठ सय ४७ जनाले सीमा पार गरेका थिए ।असदको पतन भएको ४८ घन्टाभित्रै टर्कीले आफ्नो दैनिक सीमा पार गर्ने क्षमतालाई तीन हजारबाट १५ हजारदेखि २० हजारसम्म बढाएको थियो । टर्कीले सिरियासँग नौ सय किलोमिटर लामो सीमा साझा गरेको छ र यसले ‘यातायात सहज बनाउन’ सुदूर पश्चिममा छैटौँ नाका खोल्ने बताएको छ ।
टर्की समाजभित्र सिरियाली विरोधी भावना बढ्दै जाँदा अङ्कारा सकेसम्म धेरै शरणार्थी आफ्नो मातृभूमिमा फर्कन हेर्न उत्सुक छ ।गृह मन्त्रालयका अनुसार तिनीहरूमध्ये करिब १२ लाख ४० हजार (करिब ४२ प्रतिशत) अलेप्पो क्षेत्रका हुन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया