जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने बताएका छन् ।
प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकामा खुसी व्यक्त गर्दै राकम कर्णालीमा सय श्यैयाको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको अवगत गराए ।
प्रधानमन्त्री ओलीले प्रतिष्ठानमा आवश्यक सेवा, सुविधामा उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको समेत बताए । प्रतिष्ठानको परिकल्पनादेखि आफू जानकार रहेको र चुनौतीका बीच विगतमा आफू प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा आयोगको बैठकबाट स्वीकृति गराएर प्रतिष्ठानमा चिकित्सा कक्षा सञ्चालन भई पहिलो दीक्षान्तसम्म आइपुगेकोमा खुसी व्यक्त गर्दै दीक्षित विद्यार्थीहरूलाई हरेक क्षेत्रमा सफलता हासिल गरी नयाँनयाँ कीर्तिमान कायम गर्न शुभकामना दिए ।
संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्रा.डा. क्रिस्टिन मसेङ्गर प्रमुुख अतिथि रहेको समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन पूरा गरेका ५८ विद्यार्थी दीक्षित भएका छन् ।
समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झालगायत सहभागी छन् ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd