काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले असार मसान्तसम्म खपत भएको विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै उपभोक्ताबाट असुल गरिएको भ्याट रकम आगामी भदौ महिनाको विद्युत् बिलमा समायोजन गरिने जनाएको छ।
प्राधिकरणले मंगलबार सूचना जारी गर्दै आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयबाट प्राप्त स्पष्ट निर्देशनअनुसार उपभोक्ताले भुक्तानी गरिसकेको भ्याट रकम अग्रिम भुक्तानीका रूपमा गणना गरी आगामी बिलमा घटाइने व्यवस्था गरिएको जनाएको हो।
आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि विद्युत् सेवामा भ्याट लागू हुने व्यवस्था भए पनि असार महिनामा खपत भएको विद्युत्को बिल साउनमा जारी हुँदा त्यसमा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषयमा अन्योल सिर्जना भएको थियो। यही अन्योलका कारण प्राधिकरणले असारसम्मको खपतमा समेत भ्याट जोडेर बिल पठाएको थियो, जसले उपभोक्ताबाट व्यापक गुनासो आएको थियो।
विवाद बढेपछि प्राधिकरणले साउन ८ गते आन्तरिक राजस्व विभागसँग आधिकारिक व्याख्या मागेको थियो। त्यसपछि विभागले सोमबार सूचना जारी गर्दै असार मसान्तसम्मको विद्युत् खपतमा भ्याट नलाग्ने स्पष्ट पारेको हो।
विभागका अनुसार साउन १ गतेपछि हुने विद्युत् खपतमा भने विद्युत् शुल्कसँगै न्यूनतम (डिमाण्ड) चार्जमा समेत नियमानुसार भ्याट लाग्नेछ। मूल्य अभिवृद्धि कर ऐनअनुसार अन्तिम उपभोक्ताका लागि ५ प्रतिशत र अन्य उपभोक्ताका लागि १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उपभोक्ताको गुनासोपछि विषयमा चासो देखाउँदै समाधानका लागि पहल गरेपछि अन्ततः प्राधिकरणले अतिरिक्त असुली भएको रकम आगामी बिलमै समायोजन गर्ने निर्णय सार्वजनिक गरेको हो।
प्रतिक्रिया