काठमाडौं । अमेरिका र इरानबीच जारी सैन्य तनाव थप गहिरिएको छ। अमेरिकी सेनाले इरानको रणनीतिक रूपमा महत्वपूर्ण लारक द्वीपमा रहेका दुईवटा इरानी लन्चरमा आक्रमण गरेपछि इरानले पनि अमेरिकी सैन्य अड्डालाई लक्षित गरी जवाफी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम्) का प्रवक्ता कमाण्डर टिम हकिन्सका अनुसार इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) का बलहरूले स्ट्रेट अफ होर्मुजमा समुद्री माइन राख्नुका साथै रकेट प्रहारको तयारी गरिरहेको पाइएपछि अमेरिकी सेनाले कारबाही गरेको हो।
गत जुलाईको अन्त्यपछि इरानमाथि भएको यो पहिलो अमेरिकी सैन्य प्रहार भएको बताइएको छ।
अमेरिकी आक्रमणमा आफ्ना केही सदस्यको मृत्यु तथा केही घाइते भएको आईआरजीसीले पुष्टि गरेको छ। आईआरजीसीका प्रवक्ता होसेन मोहेब्बीले अमेरिकी कारबाहीलाई ट्रम्प प्रशासनको ‘रणनीतिक र घातक गल्ती’ भन्दै यसको ‘जवाफ र सजाय’ दिइने चेतावनी दिएका छन्।
इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन्।
अमेरिकी आक्रमणपछि इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरी बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। इरानी पक्षले किङ हुसेन र अल-अज्राक क्षेत्रमा रहेका अमेरिकी बेसमा ठूलो क्षति पुगेको दाबी गरेको छ।
तर, इरानी दाबीपछि जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठवटा क्षेप्यास्त्रलाई निस्तेज पारेको जनाएको छ। यसले अमेरिकी–इरान तनाव प्रत्यक्ष रूपमा क्षेत्रीय मुलुकहरूको सुरक्षासँग जोडिन थालेको संकेत गरेको छ।
पछिल्लो समय जारी संघर्षको सबैभन्दा संवेदनशील क्षेत्र स्ट्रेट अफ होर्मुज बनेको छ। विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास ओसारपसार हुने यो समुद्री मार्गमा इरानको गतिविधिका कारण अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमाथि समेत जोखिम बढेको छ।
अघिल्लो साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा इरानले राखेका सबै समुद्री माइन हटाइसकिएको दाबी गरेका थिए। उनले पुनः माइन राख्ने कुनै पनि जहाज वा डुङ्गालाई नष्ट गरिने चेतावनीसमेत दिएका थिए।
तर, इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले ट्रम्पको दाबीलाई ‘प्रचारबाजी’ को संज्ञा दिएका छन्।
यसैबीच, इरानले ट्याङ्करहरूलाई लारक द्वीप हुँदै आवतजावत गर्न बाध्य पारिरहेको र प्रत्येक जहाजबाट करिब २० लाख अमेरिकी डलर असुल गरिरहेको बताइएको छ। यसले होर्मुजमा व्यापारिक जहाजको आवतजावत थप महँगो र जोखिमपूर्ण बन्न सक्ने चिन्ता बढाएको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि भीषण सैन्य आक्रमण सुरु गरेपछि दुई देशबीचको संघर्षले छ महिना पूरा गरिसकेको छ। यस अवधिमा सैन्य कारबाहीसँगै होर्मुज जलडमरूमध्यमा देखिएको तनावले विश्वव्यापी ऊर्जा बजारमा समेत गम्भीर प्रभाव पार्ने जोखिम बढाएको छ।
लारक द्वीपमा अमेरिकी आक्रमण र त्यसको केही समयपछि इरानबाट आएको जवाफी कारबाहीले युद्धको दायरा थप फराकिलो हुन सक्ने संकेत गरेको छ। विशेषगरी होर्मुजमा समुद्री माइन, क्षेप्यास्त्र र सैन्य गतिविधि बढ्दै गएमा विश्वव्यापी तेल आपूर्ति र अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षामा थप दबाब पर्न सक्ने देखिन्छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया