logo

२०८३ भाद्र १३ शनिबार

logo
  • २०८३ भाद्र १३ शनिबार
  • भोटेकोशी बाढीपछि विदेशी पर्यटक उद्धारमा तीव्रता, ११७ जना सुरक्षित

    757Shares
    भोटेकोशी बाढीपछि विदेशी पर्यटक उद्धारमा तीव्रता, ११७ जना सुरक्षित

    काठमाडौं, भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका विदेशी पर्यटकको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार हालसम्म विभिन्न देशका ११७ जना पर्यटकलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ।

    उद्धार गरिएकामध्ये सबैभन्दा ठूलो संख्या भारतीय पर्यटकको छ। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार भारतका ८५, चीनका १६, दक्षिण कोरियाका नौ, अमेरिकाका दुई र इटलीका दुई जना उद्धार भएका छन्। देश नखुलेका थप तीन जनाको समेत उद्धार गरिएको छ।

    बाढीपछि प्रभावित क्षेत्रमा ठूलो संख्यामा पर्यटक सम्पर्कविहीन भएपछि उनीहरूको अवस्थाबारे यकिन गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी, स्थानीय प्रशासन तथा सुरक्षा निकाय परिचालन भएका छन्।

    पर्यटन बोर्डले हराइरहेका पर्यटकको विवरण संकलन, प्रमाणीकरण र अद्यावधिक गर्ने कामसमेत गरिरहेको जनाएको छ। प्रभावित क्षेत्रमा फसेका पर्यटक तथा स्थानीयको उद्धारका लागि ट्रेकिङ कम्पनी, गाइड र सुरक्षा निकायले पनि समन्वयमा काम गरिरहेका छन्।

    यसैबीच, भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ठूलो मानवीय क्षति भएको छ। पछिल्लो सार्वजनिक विवरणअनुसार नेपालमा मात्रै ४६९ जनाको मृत्यु पुष्टि भएको छ, तर मृतकमध्ये विदेशी पर्यटक कति छन् भन्ने राष्ट्रियतागत विवरण भने अझै आधिकारिक रूपमा सार्वजनिक भएको छैन।

    यसअघि बाढीपछि सयौँ पर्यटक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको थियो। नेपाल पर्यटन बोर्डको पछिल्लो विवरणमा विदेशी पर्यटकसहित ठूलो संख्यामा मानिस अझै सम्पर्कबाहिर रहेको जनाइएको छ।

    पर्यटन बोर्डले उद्धार तथा खोजीसम्बन्धी जानकारी वा सहयोग आवश्यक परे टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटन प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट