logo

२०८३ श्रावण ३१ आईतवार

logo
  • २०८३ श्रावण ३१ आईतवार
  • कांग्रेस विवादमा शेखरको संकेत : ‘निरंकुशता स्वीकारिँदैन, अन्तिम फैसलापछि एकताको आधार बन्छ’

    763Shares
    कांग्रेस विवादमा शेखरको संकेत : ‘निरंकुशता स्वीकारिँदैन, अन्तिम फैसलापछि एकताको आधार बन्छ’

    काठमाडौं,  नेपाली कांग्रेसभित्र नेतृत्व र वैधानिकताको विवाद चर्किरहेका बेला नेता शेखर कोइरालाले पार्टीभित्र निरंकुशता स्वीकार गर्न नसकिने बताएका छन् । उनले अदालतको अन्तिम निर्णयपछि भने कांग्रेसलाई एकताबद्ध बनाउने आधार तयार हुने विश्वास व्यक्त गरेका छन् ।

    शुक्रबार संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसको पछिल्लो विवाद केवल नेतृत्वको प्रश्न नभई पार्टी सञ्चालनको विधि र लोकतान्त्रिक प्रक्रियासँग समेत जोडिएको संकेत गरे ।

    उनले पार्टीसम्बन्धी विवादमा सर्वोच्च अदालतको निर्णय आफूहरूले स्वीकार गरेको बताए । यद्यपि, निर्णय स्वीकार गरेकै अवस्थामा पुनरावलोकनको बाटो पनि रोजिएको उनको भनाइ थियो ।

    ‘पार्टीबारे सर्वोच्चको निर्णय हामीले स्वीकार्‍यौँ । तर स्वीकार्दा स्वीकार्दै पनि हामीले पुनरावलोकन पनि गर्‍यौँ । हामीले अहिले निस्सा पाएका छौँ,’ कोइरालाले भने ।

    न्यायपालिकाको भूमिकामाथि टिप्पणी गर्दै उनले न्यायपालिका स्वतन्त्र मात्र भएर नपुग्ने भन्दै निष्पक्ष हुनुपर्नेमा जोड दिए । कांग्रेसको विवादको निकास खोज्ने क्रममा न्यायिक प्रक्रियाप्रति पनि निष्पक्षताको प्रश्न महत्वपूर्ण रहेको उनको संकेत थियो ।

    कोइरालाले विगतमा पार्टीभित्र एकता कायम गर्ने प्रयास भए पनि त्यसले अपेक्षित परिणाम दिन नसकेको बताए । अब अदालतको अन्तिम निर्णयपछि भने कांग्रेसलाई पुनः एकढिक्का बनाउने आधार बन्ने उनको विश्वास छ ।

    कांग्रेसको आन्तरिक विवाद समाधानलाई उनले राष्ट्रिय राजनीतिको आवश्यकतासँग पनि जोडे । पार्टीभित्रको विवाद अन्त्य गरी कांग्रेस एकढिक्का भएपछि मात्रै अन्य राजनीतिक दल तथा शक्तिसँग सहमति र सहकार्य गर्न सकिने उनको धारणा थियो ।

    ‘देशका निम्ति कांग्रेस एकढिक्का हुन जरुरी छ । अनि मात्रै अन्य दलसँग सहकार्य गर्न सकिन्छ । अन्य शक्तिसँग मिलेर काम गर्दा राष्ट्रियतालाई मजबुत गर्न सकिन्छ,’ उनले भने ।

    विशेष महाधिवेशन, नेतृत्वको वैधानिकता र पार्टी सञ्चालनको विषयलाई लिएर कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षबीच विवाद कायम रहेका बेला कोइरालाको अभिव्यक्ति आएको हो । उनको सम्बोधनले तत्कालीन विवादको निकास अदालतको प्रक्रियाबाट टुंगिएपछि पार्टीभित्र एकताको नयाँ प्रयास अघि बढाउनुपर्ने पक्षमा संस्थापनइतर धारणा रहेको देखाएको छ ।



    फास्ट न्युज    
  • २०८३ श्रावण २९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट