काठमाडौं । सिरियाको राजधानी दमस्कसस्थित एक अदालतले पदच्युत राष्ट्रपति बशर अल–असद र उनका भाइ माहेर अल–असदलाई मानवताविरुद्धका अपराध तथा युद्ध अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ । मंगलबार सुनाइएको फैसला उनीहरू दुवैको अनुपस्थितिमा भएको हो ।
सन् २०११ मा सुरु भएको विद्रोह गृहयुद्धमा परिणत भएपछि करिब १४ वर्षसम्म चलेको द्वन्द्वका क्रममा हत्या, यातना, मनपरी गिरफ्तारीलगायतका गम्भीर अपराध गरेको अभियोगमा अदालतले असद दाजुभाइलाई दोषी ठहर गरेको हो । उक्त द्वन्द्वमा करिब पाँच लाख मानिसको ज्यान गएको अनुमान छ ।
यो फैसला असद परिवारको पाँच दशक लामो शासन सन् २०२४ को डिसेम्बरमा अन्त्य भएपछि बशर अल–असदविरुद्ध आएको पहिलो कानुनी फैसला हो । असद सरकार विद्रोहीको आक्रमणपछि ढलेपछि बशर र उनका भाइ माहेर सिरियाबाट भागेर रुस पुगेका थिए । उनीहरू अहिले पनि रुसमै रहेको र राजनीतिक शरण पाएको बताइएको छ ।
सोही मुद्दामा बशरका काकाका छोरा तथा पूर्वसुरक्षा अधिकारी आतिफ नजिबलाई पनि मृत्युदण्ड सुनाइएको छ । सन् २०११ मा सिरियामा विद्रोहको सुरुआत भएको दक्षिणी प्रान्त दाराामा प्रदर्शन दमनको नेतृत्व गरेको अभियोगमा नजिबलाई दोषी ठहर गरिएको हो । नजिब नै यस मुद्दामा अदालतमा उपस्थित भएर फैसला सुन्ने प्रमुख अभियुक्त थिए ।
कडा सुरक्षाबीच नजिबलाई कैदीको पोसाकमा अदालतमा उपस्थित गराइएको थियो । फैसला सुनाइएपछि दमस्कसस्थित न्यायिक परिसरबाहिर सर्वसाधारणको भीड लागेको थियो । असदको शासनविरुद्ध सन् २०११ मा आन्दोलन सुरु भएको दाराामा समेत फैसलापछि मानिसहरूले उत्सव मनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
असदविरुद्धको फैसला सिरियाको नयाँ शासनका लागि संक्रमणकालीन न्याय र पुरानो शासनका गम्भीर अपराधमा जवाफदेहिता स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ । तर असद र माहेर दुवै सिरियाबाहिर रहेकाले फैसला कार्यान्वयनमा ठूलो चुनौती देखिएको छ । विशेषगरी रुसले उनीहरूलाई शरण दिइरहेका अवस्थामा सिरियाले उनीहरूलाई स्वदेश फर्काउन कसरी दबाब सिर्जना गर्छ भन्ने प्रश्न महत्वपूर्ण बनेको छ ।
यसअघि सिरियाका नयाँ शासकहरूले असद दाजुभाइलाई स्वदेश फर्काउन रुससँग आग्रह गर्दै आएका थिए । तर अदालतबाट मृत्युदण्डको फैसला आएपछि उनीहरूको सुपुर्दगीको विषय अझ संवेदनशील बन्न सक्ने कानुनी विश्लेषणसमेत सार्वजनिक भएको छ ।
यस फैसलाले लामो समयसम्म सत्तामा रहेको असद परिवारमाथि कानुनी जवाफदेहिताको प्रक्रिया औपचारिक रूपमा अघि बढेको संकेत गरेको छ । यद्यपि, फैसला आउनु र अभियुक्तलाई पक्राउ गरी सजाय कार्यान्वयन गर्नु फरक विषय भएकाले बशर र माहेरको हकमा यसको तत्काल व्यावहारिक प्रभाव सीमित रहने देखिन्छ।
प्रतिक्रिया