logo

२०८३ आश्विन २० मंगलवार

logo
  • २०८३ आश्विन २० मंगलवार
  • दुई महिनाको करार प्रावधानविरुद्ध सीटीईभीटीका दुई हजार कर्मचारी आन्दोलनमा

    928Shares
    दुई महिनाको करार प्रावधानविरुद्ध सीटीईभीटीका दुई हजार कर्मचारी आन्दोलनमा

    काठमाडौं, साउन २६ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका करार तथा ज्यालादारी कर्मचारी रोजगारीको निरन्तरता र पेशागत सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

    सीटीईभीटीका दुई हजारभन्दा बढी कर्मचारी सोमबार सानोठिमीस्थित केन्द्रीय कार्यालय पुगेका हुन्। उनीहरूले करार अवधि एक वर्षबाट घटाएर दुई महिनामा सीमित गरिएको, लामो समयदेखि काम गरिरहेका कर्मचारीलाई सेवाबाट हटाइएको तथा आधारभूत तलबबाहेकका सेवा–सुविधाबाट वञ्चित गरिएको भन्दै अनिश्चितकालीन आन्दोलन थालेका हुन्।

    आन्दोलन परिचालन समितिका अनुसार सीटीईभीटीमा ९३२ स्थायी दरबन्दी सिर्जना भए पनि ५२९ पदमा मात्रै स्थायी पदपूर्ति भएको छ। बाँकी जनशक्ति करार र ज्यालादारीमा कार्यरत छन्। परिषद्का विभिन्न कार्यालय तथा शिक्षालयमा करारमा कार्यरत कर्मचारीको संख्या १ हजार ५३२ रहेको उनीहरूको दाबी छ।

    संघर्ष समितिका अनुसार हाल ७४ कर्मचारीलाई सेवाबाट हटाइएको छ भने ४२६ पद रिक्त राखिएको छ। दुई महिनाको करार सम्झौताले कर्मचारीमा रोजगारीको असुरक्षा बढाएको उनीहरूको भनाइ छ।

    आन्दोलनरत कर्मचारीले नौबुँदे माग अघि सारेका छन्। उनीहरूले करार अवधि बढाउनुपर्ने, सेवाबाट हटाइएका कर्मचारीलाई पुनः काममा फर्काउनुपर्ने, सामाजिक सुरक्षा तथा महँगी भत्तालगायत सुविधा दिनुपर्ने र दीर्घकालीन रूपमा स्थायी दरबन्दी पूर्ति गर्नुपर्ने माग गरेका छन्।

    तर सीटीईभीटी प्रशासनले भने कतिपय शिक्षालयमा विद्यार्थी संख्या घटेको र सरकारले बजेट कटौती गरेका कारण केही कर्मचारीसँग करार सम्झौता गर्न नसकिएको जनाएको छ। प्रशासन महाशाखा प्रमुख दामोदर देवकोटाले आवश्यकताका आधारमा कर्मचारीलाई विभिन्न कार्यालयमा व्यवस्थापन गर्न रोस्टर तयार गर्ने प्रक्रिया अघि बढाइएको बताए।

    सीटीईभीटीले आन्दोलनरत कर्मचारीसँग वार्ता भइरहेको जनाएको छ। कर्मचारी भने माग पूरा नभएसम्म सानोठिमीस्थित केन्द्रीय कार्यालयबाहिर बिहान १० बजेदेखि धर्ना जारी राख्ने अडानमा छन्।



    फास्ट न्युज    
  • २०८३ श्रावण २५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट