काठमाडौं । लागूऔषध ओसारपसार नियन्त्रणका क्रममा प्रहरीले काठमाडौंको सुन्दरीजलबाट करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। मध्यराति गरिएको प्रहरी अपरेसनका क्रममा मोटरसाइकलमा गाँजा बोकेर गइरहेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्दै आएका २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजल निवासी ५४ वर्षीय अम्बक तामाङ रहेका छन्।
प्रहरीका अनुसार बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई गएराति करिब १ बजेतिर शंकास्पद अवस्थामा जाँच गर्दा ३० किलो गाँजा बरामद भएको थियो। गाँजासँगै प्रयोग गरिएको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ। उनीहरूमाथि लागूऔषध ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया