logo

२०८३ श्रावण १४ बिहीबार

logo
  • २०८३ श्रावण १४ बिहीबार
  • अनलाइन बेटिङविरुद्ध प्राधिकरणको ठूलो कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द

    823Shares
    अनलाइन बेटिङविरुद्ध प्राधिकरणको ठूलो कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द

           काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा प्रयोग हुने २ लाख २३ हजार ५६८ वटा वेबसाइट र मोबाइल एप बन्द गरेको जनाएको छ। सरकारको शासकीय सुधार कार्ययोजनाअनुसार अनलाइन बेटिङ र वित्तीय ठगी नियन्त्रण अभियानलाई तीव्र बनाइएपछि प्राधिकरणले व्यापक रूपमा यस्ता वेबसाइट तथा एपमाथि कारबाही गरेको हो।

    सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४२औँ बुँदामार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनलाइन सट्टेबाजीसँग सम्बन्धित वेबसाइट र एप २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिएको थियो। सोही निर्णय कार्यान्वयन गर्दै प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी) सँगको समन्वयमा यस्ता प्लेटफर्ममाथि निगरानी र अवरोध (ब्लक) गर्ने अभियान निरन्तर सञ्चालन गरिरहेको छ।

    प्राधिकरणका अनुसार सुरुवातमै सञ्चालनमा रहेका अधिकांश बेटिङ वेबसाइट बन्द गरिए पनि नयाँ नाम र नयाँ डोमेनमार्फत पुनः सञ्चालनमा आउने प्रवृत्ति रोकिएको छैन। यही कारण निगरानी र कारबाहीलाई निरन्तर जारी राख्नुपर्ने अवस्था रहेको प्राधिकरणले जनाएको छ।

    यसैबीच, फिफा विश्वकप २०२६ का क्रममा नेपालमा अनलाइन बेटिङको प्रयोग उल्लेख्य रूपमा बढ्न सक्ने आकलन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस विषयलाई विशेष प्राथमिकतामा राखेको थियो। त्यसपछि प्राधिकरणले निगरानी संयन्त्रलाई थप सक्रिय बनाएको र विश्वकप सुरु भएयता मात्रै २ लाख २३ हजार ५६८ वटा वेबसाइट तथा एप बन्द गरिएको जनाएको छ।

    यसका लागि गठन गरिएको कार्यदलमा रहेका नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप अवधिभर इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिलाई प्राधिकरणमै राखेर शंकास्पद वेबसाइट तत्काल पहिचान गरी अवरुद्ध गर्ने व्यवस्था मिलाइएको थियो।

    उनका अनुसार आईएसपीसँगको समन्वयमा शंकास्पद वेबसाइटका यूआरएल (वेब ठेगाना) तत्काल ब्लक गरिन्छ। तर एउटा वेबसाइट बन्द गरेलगत्तै अर्को नयाँ वेबसाइट सञ्चालनमा आउने भएकाले यो अभियान निरन्तर चलाइरहनुपर्ने चुनौती रहेको उनले बताए।

    “जति नयाँ वेबसाइट खुल्दै जान्छन्, त्यति नै पहिचान गरेर बन्द गर्दै जानुपर्छ। यसका लागि थ्रेट इन्टेलिजेन्स टुल प्रयोग गरेर त्यस्ता वेबसाइट खोज्ने (हन्टिङ गर्ने) काम भइरहेको छ,” महतोले भने।

    प्राधिकरणले अनलाइन बेटिङ र वित्तीय ठगीमा प्रयोग हुने डिजिटल प्लेटफर्मविरुद्धको निगरानी आगामी दिनमा पनि निरन्तर जारी रहने जनाएको छ। साथै, यस्ता अवैध वेबसाइट वा एप प्रयोग नगर्न र शंकास्पद गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण ८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट