खोटाङ, २७ असार । बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएको लालुपाते बहुउद्देश्यीय सहकारी संस्था खोटाङको मुद्धा मिलापत्र भएको छ । सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्ताको रकम फिर्ता दिएपछि बचतकर्ता (जाहेरवाला) र सञ्चालक समिति (प्रतिवादी)बीचहिजो बुधबार जिल्ला अदालत खोटाङमा मिलापत्र भएको हो ।
सञ्चालक समितिले बचतकर्तामध्ये उजुरी दिने २६५ जना बचतकर्तालाई अदालतमै बोलाएर बचत रकम फिर्ता दिएको छ । बचतकर्ताको रकम ठगी प्रकरणमा मुद्धा चलिरहेको अवस्थामा सञ्चालक समितिले उनीहरुको बचत रकम फिर्ता दिएपछि मिलापत्र गराइएको श्रेष्तेदार सीताराम खड्काले जानकारी दिनुभयो ।
बचतकर्ता पदमकुमारी सैंजुसमेत २६५ जनाले दिएको जाहेरीमा सरकारी वकीलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम चार करोड ४० लाख ६१ हजार १८ बिगो मागदाबीसहित अदालतमा अभियोगपत्र दर्ता गराएका थियो । सञ्चालक समितिले ऋणीहरुबाट उठाएर उनीहरु सबैजनालाई बोलाएर बचत रकम फिर्ता दिएको हो।
ऋणीले चलाएको रकम उठाएर बचतकर्तालाई फिर्ता दिनुका साथै अदालतमा विचाराधीन मुद्धा मिलापत्र गर्न सफल भएको सहकारीका सहजकर्ता गोपाल सैंजूले बताउनुभएको छ । “अदालतमा विचाराधीन मुद्धाको फैसला हुन केही समय लाग्थ्यो । फैसला पर्खदा बचतकर्ताहरु पीडितमाथि झनै पीडित हुने अवस्था देखियो”, उहाँले भन्नुभयो, हामीले दुवै पक्षलाई न्याय हुने मध्यमार्गी भूमिका निर्वाह गरेका छौँ । यो मूलुककै नमूना अभ्यास हो । यसले सबैको भलाइ भएको छ ।”
सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण वि.सं. २०७८ वैशाख–१५ गते पोखरामा निधनपछि निक्षेपकर्ताहरु निक्षेप रकम फिर्ता माग्न जाँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि बचत अपचलन भएको विषय बाहिरिएको थियो । तत्कालीन अध्यक्ष जोशीको निधनपछि वि.सं. २०७८ वैशाख–१६ गतेदेखि सहकारीको कारोबार अहिलेसम्म ठप्प छ ।
तत्कालीन अध्यक्ष जोशीले आफूखुशी सहकारीबाट ऋणीलाई रु २५ हजारदेखि रु ९९ लाखसम्म ऋण दिइएको प्रहरी प्रतिवेदनमा देखिएको थियो । ऋणीहरुमध्ये अधिकांशबाट उनीहरुले चलाएको रकम उठाएर बचतकर्तालाई फिर्ता गरिएको सञ्चालक समितिका सदस्य एवम् मेलमिलापत्रकर्ता हरिबोल आचार्यले जानकारी दिनुभएको छ ।
बचतकर्ताको रकम ठगी प्रकरणमा सहकारीका तत्कालीन अध्यक्ष जोशीका भाइ सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशीसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका थिए । क्याप्टेन सुनिल, सुनिलका श्रीमती रविना जोशी (श्रेष्ठ), प्रबन्धक रुकु जोशी र ऋणी जसुदा पौडेल जिल्ला अदालत खोटाङका तत्कालीन न्यायाधीश सुभाषबाबु गिरीको आदेशमा वि.सं. २०८० मङ्सिर–२१ गते कारागार चलान भएका हुन् ।
विचाराधीन मुद्धा मिलापत्र गरिएसँगै पुर्पक्षका लागि कारागारमा रहेका क्याप्टेन सनिलसहित चारैजना अदालतको छुटेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । पुर्पक्षमा रहेकाहरु छुटेसँगै प्रतिवादीको सूचिमा रहेका २६ जनाको मुद्धासमेत मिलापत्रमा टुङ्ग्याइएको जनाइएको छ ।
क्याप्टेन सुनिल र सुनिलकी श्रीमती रविना वि.सं. २०८० असोज–१३ गते काठमाडौँस्थित उनीहरुको घरैबाट पक्राउ परेका थिए । उनीहरुमध्ये सुनिलले सहकारीको रकममा खरिद गरिएको जग्गा आफ्ना नाममा पास गरेको तथा रविनाले रु दुई करोड ३५ लाख बचतकर्ताको रकम अपचलन गरेको अदालतले ठहर गरेको थियो ।
तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौँ ऋण लगेको तर, फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदालाई प्रहरीले वि.सं. २०८० कातिक–१५ गते चितवनबाट पक्राउ गरेको थियो । उनीसहित तत्कालीन अध्यक्ष जोशीका परिवारविरुद्ध सहकारी सञ्चालक समितिले वि.सं. २०८० फागुन–२ गते प्रहरीमा उजुरी दिएको थियो ।
तत्कालीन प्रबन्धक जोशीले तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा बचतकर्ताको करोडौँ रकम अपलचन गरेको अदालतले दिएको थुनछेक आदेशमा उल्लेख थियो । प्रबन्धक जोशीलाई सञ्चालक समितिको जाहेरीको आधारमा वि.सं. २०८० असोज–१७ गते काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सहकारीका लेखा समिति संयोजक प्रितम श्रेष्ठ र कोषाध्यक्ष रमा शाक्य रु दश÷दश लाख तथा उपाध्यक्ष अर्जुन चौलागाँई र सचिव मनोज राई रु पाँच÷पाँच लाख धरौटीमा गत मङ्सिर–२१ गते रिहा हुनुभएको थियो । लेखापाल सुमना राईलाई अदालतबाट रु दश लाख धरौटी तोकिए पनि बुझाउन नसक्दा कारागार चलान भएर चार महिनापछि अदालतले तोकेको धरौटी रकम बुझाएर छुट्नुभएको थियो ।
बचतकर्ताको लगानी डुबाएको भन्दै जाहेरी परेपछि सहकारीको सञ्चालक समितिका उपाध्यक्ष चौलागाईँ, सचिव राई, कोषाध्यक्ष शाक्य, लेखा समिति संयोजक श्रेष्ठ र लेखापाल राईलाई प्रहरीले वि.सं. २०८० कातिक–१२ गते पक्राउ गरेको थियो । सञ्चालक समितिका पदाधिकारी पक्राउ गर्नुभन्दा महिना दिनअघि ऋणीहरुलाई प्रहरीले पक्राउ गरेपनि अनुसन्धानमा असर गर्ने भन्दै उनीहरुको नाम सार्वजनिक गरेको थिएन ।
प्रहरीले पक्राउ परेका नौँ जनालाई सङ्गठित अपराधमा मुद्दा चलाउने भन्दै ६० दिनसम्म हिरासतमा राखेर सरकारी वकीलको कार्यालयमा राय प्रतिवेदन बुझाएको थियो । प्रहरीले सङ्गठित अपराध अन्तरगतको राय प्रतिवेदन बुझाए पनि सरकारी वकीलले ठगी मुद्दाको अभियोगपत्र तयार गरेर अदालतमा बुझाएको हो ।
सहकारीको नाममा हलेसीमा रु ४८ लाखमा खरिद गरिएको छ रोपनी तीन आना एक पैसा एक दाम (दुई कित्ता) जग्गा तत्कालीन अध्यक्ष जोशीको भाइ क्याप्टेन सुनिलको नाममा पास गरेको पाइएको थियो । सहकारीको नाममा जग्गा किन्ने निर्णय गरेर तत्कालीन अध्यक्ष जोशीको मिलेमतोमा व्यक्तिको नाममा पास गरेको पाइएको प्रहरीले जनाएको छ ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd