लुम्बिनी- लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेको छ। कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा सोमबार काठमाडौँमा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो। परिषदले कुल ७७ करोड ५५ लाख ९२ हजारको आयव्यय अनुमान गरी प्रस्तुत बजेट पारित गरेको हो।
कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले प्रस्तावित गरेको आन्तरिकतर्फ ३२ करोड ५५ लाख ९२ हजार र नेपाल सरकारको अनुदान ४५ करोड गरी उक्त कुल आम्दानी खर्चको अनुमान गरेको हो । गतवर्ष आन्तरिकमा २३ करोड र नेपाल सरकारको अनुदान ४५ गरी ६८ करोडको बजेट रहेको थियो ।
कोषका सदस्य सचिव सानुराजा शाक्यले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए उक्त दुवै प्रतिवेदन सुझाव सहित पारित गरिएको छ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले समयको सदुपयोग गरेर कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए। बैठकमा कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले लुम्बिनी विकास कोषले अर्थ, परराष्ट्र, गृह र पर्यटन मन्त्रालयबाट यथेष्ट सहयोग नपाएको गुनासो गर्दै उक्त सहयोग र ढोका खुला राख्ने हो भने लुम्बिनी गुरुयोजना कार्यान्वयन सक्न सरकारको अनुदानबिना नै पूरा गर्न सकिने तर नेपालको नीतिमा उदार व्यवस्था हुनुपर्ने बताए।
बैठकले लुम्बिनीमा निर्माण गरी राम्रोसँग सञ्चालनमा नआएका बिहार, गुम्बाको अध्ययन गरी तिनको करार प्रक्रिया र अवधिमा पुनःमूल्याङ्कन गर्न अध्ययन कार्यदल बनाउने निर्णयका साथै कर्मचारी सङ्गठनको बदलिँदो आवश्यकताअनुरुप पुनःसंरचना गर्ने निर्णय पनि गरेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया