सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका दुई जनाको शव गोताखोर टोलीले निकालेको छ । बयलबास बजारबाट महोत्तरी जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहान पोखरीमा खस्दा चालकसहित दुई जना ईश्वरपुर–२ मियाँखोरस्थित पोखरीमा डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता कारचालक महोत्तरीको गौशाला नगरपालिका–१० का अन्दाजी ३८ वर्षीय सुरेश महतो र सोनमा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव पोखरीबाट गोताखोर टोलीले निकालेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
कारमा सवार महोत्तरीको गौशाला–२ का ३१ वर्षीय जनक यादव भने पौडिएर सकुशल पोखरीबाट बाहिर निस्किएका थिए । सशस्त्र प्रहरी बलको टोली र इलाका प्रहरी कार्यालय केश्वरगञ्जबाट पुगेको प्रहरी टोलीले संयुक्त रुपमा बेपत्ताको खोजी तथा उद्धार गरेको थियो ।
सो टोलीले बेपत्ता फेला नपरेपछि बर्दिवासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली मगाएर खोजी गरिएको थियो । गोताखोर टोलीले शव बाहिर निकालेपछि परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने तयारी भएको प्रनाउ श्रेष्ठले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया