logo

२०८३ मंसिर १० बुधबार

logo
  • २०८३ मंसिर १० बुधबार
  • नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव, लगानीका क्षेत्र पनि विस्तार गरिने

    868Shares
    नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव, लगानीका क्षेत्र पनि विस्तार गरिने

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको पुँजी वृद्धि गर्दै लगानीका क्षेत्र तथा वित्तीय उपकरणको दायरा विस्तार गर्ने प्रस्ताव गरिएको बताएका छन् ।

    बुधबार अर्थ समितिको बैठकमा कोषको कार्यसम्पादन, वित्तीय अवस्था, लगानी तथा प्रतिफल र भावी कार्ययोजनाबारे जानकारी दिँदै मन्त्री वाग्लेले नागरिक लगानी कोष ऐन, २०४७ लाई समयानुकूल बनाउन संशोधन विधेयक ल्याइएको बताए ।

    उनका अनुसार कोषको पुँजी ८ अर्बबाट बढाएर १० अर्ब रुपैयाँ पुर्‍याउने, सेयर कित्ता ८ करोडबाट १० करोड पुर्‍याउने र चुक्ता पुँजी ३ अर्बबाट वृद्धि गरी ६ अर्ब ८० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ ।

    संशोधन विधेयकमार्फत कोषको लगानी दायरा पनि फराकिलो बनाउने तयारी छ । निजी इक्विटी, भेन्चर क्यापिटल, पूर्वाधार, उत्पादनमूलक उद्योग तथा आवास क्षेत्रमा लगानी विस्तार गर्ने व्यवस्था विधेयकमा समेटिएको मन्त्री वाग्लेले जानकारी दिए ।

    उनले पुरानो ऐनमा समेटिन नसकेका नयाँ वित्तीय उपकरण तथा लगानीका क्षेत्रलाई समावेश गरी कोषको क्षमता अभिवृद्धि गर्न खोजिएको बताए ।

    विधेयकमा कोषको परिभाषा र कार्यक्षेत्र विस्तार, सञ्चालक समितिको पुनर्संरचना, लगानीका क्षेत्र तथा वित्तीय उपकरणको विविधीकरण र लेखा प्रणालीको आधुनिकीकरणलगायत विषय समेटिएका छन् ।

    संशोधन प्रस्तावअनुसार सञ्चालक समितिको पुनर्संरचना दफा २५, लगानीका क्षेत्र तथा वित्तीय उपकरण विस्तार दफा ३२ तथा लेखा प्रणालीको आधुनिकीकरण दफा ३७ र ३८ मा व्यवस्था गरिएको छ ।

    त्यसैगरी, कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार निर्धारण, कोषका विशेष अधिकार विस्तार, मुद्दती निक्षेपमा लगानीसम्बन्धी व्यवस्था तथा कानुनी शब्दावलीमा आवश्यक परिमार्जन गर्ने प्रस्ताव पनि विधेयकमा समावेश गरिएको छ । राष्ट्रिय बीमा संस्थानको सट्टा राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको नाम राख्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

    मन्त्री वाग्लेले ऐन संशोधनपछि नागरिक लगानी कोषको पुँजीगत तथा संस्थागत क्षमता वृद्धि हुने विश्वास व्यक्त गरे । साथै, राष्ट्रिय प्राथमिकताका पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा दीर्घकालीन पुँजी परिचालन गर्न सहज हुने अपेक्षा गरिएको उनको भनाइ छ ।



    फास्ट न्युज    
  • २०८३ मंसिर १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट