काठमाडौं । छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा घाट निर्माण, सरसफाइ र व्यवस्थापनको काम तीव्र पारिएको छ ।
पछिल्ला वर्षमा काठमाडौंमा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि उपत्यकाका विभिन्न १७ स्थानमा छठ पूजाका लागि आवश्यक तयारी भइरहेको छ ।
गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ घाट निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने धार्मिक परम्परा छ । चार दिनसम्म विभिन्न विधि र आस्थाका साथ मनाइने यस पर्वमा व्रतालु नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन् ।
गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ । घाटमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सरसफाइ गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको उनले जानकारी दिए ।
“काठमाडौंमा पनि छठ मनाउने परम्परा बढ्दै गएको छ । हामीले तयारी अन्तिम चरणमा पुर्याएका छौँ । अहिले पाल टाँग्ने र सरसफाइ गर्ने काम भइरहेको छ,” सिंहले भने ।
उनले अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गरिने छठ पर्वको धार्मिक महत्व ठूलो रहेको बताए । मनोकामना पूरा हुने विश्वासका साथ पनि छठको व्रत बस्ने परम्परा रहेको उल्लेख गर्दै उनले व्रतालुलाई सहज रूपमा पूजा गर्ने वातावरण बनाउन आफूहरू जुटेको बताए ।
काठमाडौंमा छठ पर्व मनाइने प्रमुख स्थानमा गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनारको थापाथली, टेकु, वंशीघाट, कुपण्डोल र बल्खु क्षेत्र रहेका छन् ।
त्यसैगरी विष्णुमती नदी किनार, नख्खु नदी किनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुस्थित बाइसधारामा पनि छठ पूजा गरिँदै आएको छ ।
काठमाडौं महानगरपालिकाले विगतका वर्षमा कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलाई छठ पूजाका प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ । बालाजु बाइसधारा र वंशीघाटलगायत स्थानमा पनि पर्वका अवसरमा घाट निर्माण तथा व्यवस्थापन गरिन्छ ।
छठ पर्वअन्तर्गत कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ । कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुनेछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया