काठमाडौं । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले तिहारलाई लक्षित गर्दै यही बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने भएको छ।
राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गर्दै बबरमहलस्थित टक्सार महाशाखाबाट दुई दिन असर्फी तथा मेडालियन बिक्री वितरण गर्न लागेको जनाएको हो।
राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन एक–एक थान गरी बढीमा दुई थान खरिद गर्न सकिनेछ।
इच्छुक सेवाग्राहीले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टक्सार महाशाखाबाट असर्फी तथा मेडालियन खरिद गर्न सक्नेछन्।
खरिदका लागि नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा उक्त कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
असर्फी तथा मेडालियन खरिद गर्दा नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिनेछ। राष्ट्र बैंकले यी सामग्रीको मूल्य दैनिक बिहान करिब ११ बजेपछि निर्धारण गर्ने भएकाले मूल्य तय भएपछि मात्र बिक्री सुरु हुने स्पष्ट पारेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया