खोटाङ । खोटाङमा बाँदर खेदाउने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीमा मंगलबार दिउँसो भरुवा बन्दुकको गोली लागेर स्थानीय ५३ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
प्रहरीका अनुसार बाँदर खेदाउने क्रममा ५४ वर्षीय भलबहादुर तामाङले चलाएको भरुवा बन्दुकको गोली श्यामबहादुरलाई लागेको थियो। टाउकोमा गोली लागेका श्यामबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट खार्मीबाट प्रहरी सहायक हवल्दार विक्रम रायको कमान्डमा तीन सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा संलग्न भनिएका भलबहादुर तामाङलाई नियन्त्रणमा लिनुका साथै भरुवा बन्दुकसमेत बरामद गरेको छ।
घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रहरी निरीक्षकको कमान्डमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप प्रहरी टोली घटनास्थलतर्फ खटाइएको प्रहरीले जनाएको छ।
मृतकको शव घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया